काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

714
shares

काठमाडौं । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई उक्त जिम्मेवारी दिएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका ढकाल आइएमई समूहका अध्यक्ष हुन् । उनी चन्द्रागिरि हिल्सलगायत नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकास तथा होटल व्यवसायमा लगानी गर्दै आएका छन् ।

नवनियुक्त संयोजक ढकालले दक्षिण एसियाको भौगोलिक बनावट र सांस्कृतिक विविधता विश्वमै अद्वितीय रहेकाले यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।

सगरमाथासहितका हिमशृङ्खला, हिन्द महासागरका टापु, विशाल समुद्री तट, जङ्गल, मरुभूमि तथा धार्मिक र ऐतिहासिक सम्पदाले दक्षिण एसियामा पर्यटनको अपार सम्भावना रहेको उनको भनाइ छ ।

विश्वको करिब एक चौथाइ जनसङ्ख्याको बसोबास रहेको दक्षिण एसिया आफैँमा ठूलो आन्तरिक पर्यटन बजार भएको उल्लेख गर्दै उनले यस सम्भावनालाई उपयोग गर्न पर्यटन पूर्वाधारको स्तरोन्नति र लगानी विस्तार आवश्यक रहेको बताए ।

सार्क क्षेत्रका प्रतिष्ठित होटल तथा आतिथ्य ब्रान्डलाई एकअर्काका देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । अन्तरदेशीय लगानीले पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानमा समेत सहयोग पुर्‍याउने उनको भनाइ छ ।

नेपालमा पनि सार्क राष्ट्रका लगानीकर्ता र स्थापित होटल चेनलाई पर्यटन पूर्वाधारमा लगानी गर्न आकर्षित गर्दै नेपाली आतिथ्य क्षेत्रको अनुभवलाई क्षेत्रीय स्तरमा विस्तार गर्न सकिने उनले बताए ।

क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘सार्कभित्रै घुमौँ’ भन्ने अवधारणासहित अन्तरदेशीय पर्यटन अभियान सञ्चालन गर्नुपर्ने उनको धारणा छ । विभिन्न देशका पर्यटकीय गन्तव्यलाई समेटेर साझा पर्यटन सर्किट र प्याकेज निर्माण गर्न सके धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनको आदानप्रदान बढाउन सकिने उनले उल्लेख गरे ।

क्षेत्रीय पर्यटन विकासका लागि सहज सम्पर्क सञ्जाल (कनेक्टिभिटी) महत्त्वपूर्ण रहेको बताउँदै ढकालले सार्क राष्ट्रका प्रमुख सहरबीच सीधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए ।

नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई सार्क राष्ट्रका प्रमुख गन्तव्यसँग सीधा हवाई सम्पर्कमा जोड्न सके क्षेत्रीय पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

यी लक्ष्य हासिल गर्न सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले नीतिगत समन्वय र व्यावसायिक साझेदारीका लागि सार्क चेम्बरजस्ता क्षेत्रीय संस्थाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे । समग्र दक्षिण एसियाको साझा पर्यटन विकास र समृद्धिका लागि आफूले परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि ढकालले जनाए ।