‘गन्तव्यको प्रवर्द्धन प्राथमिकतामा’
वि.सं.२०८३ मंसिर ५ शनिवार १०:१०
shares

बागमतीर । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले हेटौँडासहित आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन उपमहानगरपालिकाको प्राथमिकतामा रहेको बताएको छन् ।
हिमालयन राइडर्स सोसाइटी, हेटौँडाको आयोजना एवं हेटौँडा उपमहानगरपालिकाको प्रायोजनमा मकवानपुरको पर्यटकीय गन्तव्य बुढीचौरलाई लक्षित गरी आयोजित दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन राइडको शुभारम्भ गर्दै प्रमुख लामाले गन्तव्यको प्रवर्द्धन गर्दै पर्यटकीय गतिविधि बढाउन सकिने बताए। गन्तव्यको प्रवर्द्धनमा सोसाइटीले गरेका कामको प्रशंसा गर्दै उनले यस किसिमका कार्यक्रममा उपमहानगरपालिकाले साथ र सहयोग गरिरहेको बताए ।
साइकलयात्राको माध्यमबाट मकवानपुरगढी गाउँपालिका– ८ स्थित पर्यटकीय गन्तव्य बुढीचौरको प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन गर्न आयोजित कार्यक्रममा मकवानपुर र बारा जिल्लाका कूल १५० जनाको सहभागिता रहेको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिए । पछिल्ला वर्षमा प्राकृतिक, ऐतिहासिक, धार्मिक एवं साहसिक पर्यटनका दृष्टिले आन्तरिक पर्यटकको रोजाइमा परिहेको बुढीचौरको पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने उद्देश्यसहित प्रवर्द्धनात्मक साइकलयात्रा गरिएको उनले बताए ।
अध्यक्ष थापा मगरका अनुसार हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरबाट सुरु हुने साइकलयात्रा कान्ति लोकपथ, चौहडा, शिखर कटेरी, गैरी भञ्ज्याङ, कुर्ले, सुकौरा हुँँदै बुढीचौर पुग्ने छ । पर्यटनको प्रचुर सम्भावना बोकेको बुढीचौर क्षेत्रमा पर्यटन प्रवर्द्धनको लागि प्रचारप्रसार र प्रवर्द्धन नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउँदै अध्यक्ष थापा मगरले पछिल्ला समयमा प्रकृतिप्रेमीसँगै साहसिक पर्यटनमा रुचि राख्नेहरूको रोजाइमा यो गन्तव्य पर्न लागेको जानकारी दिए
हेटौँडा बजारको व्यस्तताबाट मुक्त हुँदै करिब २५ किलोमिटरको दूरीमा रहेको यस गन्तव्यबाट देखिने मनोरम पहाडी भूदृश्यले पर्यटकलाई निकै लोभ्याउने गरेको उनले बताए । यहाँस्थित ऋषेश्वर गुफासहितका धार्मिक महत्वका स्थलले पनि यहाँको महिमा र गरिमा अझै बढाएको अध्यक्ष थापा मगरले बताए स्वास्थ्य, पर्यटन र पर्यावरणमा जोड दिँदै आएको सोसाइटीले साइक्लिङका माध्यमबाट मकवानपुरसहित देशका विभिन्न स्थानका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिरहेको छ ।

























