बंगलादेश निर्वाचन : मौन अवधि सुरु
वि.सं.२०७५ पुस १३ शुक्रवार १५:०५
shares

चर्को विवाद, तनाब र हिंसाका बीच बंगलादेशमा हुन लागेको निर्वाचनका लागि प्रचार प्रसार अभियान बन्द भएको छ ।
शुक्रबारदेखि मौनअवधि सुरु भएकाले बिहीबार अन्तिम प्रचारप्रसारका कार्यक्रम भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् । आइतबार हुने निर्वाचनका लागि दुवै पक्षले एक अर्कालाई आरोपित गर्दै आएका छन् भने आफ्नो पक्ष राम्रो भएको प्रचार गरेका छन् ।
निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दावी गर्दै आएकी छन् भने विपक्षीहरुले निश्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशंका गरिरहेका छन् । प्रधानमन्त्री हसिनाले विपक्षीहरुले आफूविरुद्ध बम आक्रमण गराएको आरोप लगाएकीे छन् भने उनलाई विपक्षी दलले राज्य आतंक मच्चाएको दावी गरेको छ ।
विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेलमा छिन् । ७३ वर्षीया जिया पूर्वसैनिक तानाशाहकी विधवा हुन् भने प्रधानमन्त्री हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुन् ।
यी दुबै महिला नेतृ सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिकरुपमा सक्रिय छन् । यो चुनावमा विजयी भए शेख हसिनाले बंगलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउनेछिन् ।

























