गण्डकीका ३ स्थानीय तहमा अझै बैंक पुग्न सकेनन्
वि.सं.२०७५ पुस १३ शुक्रवार २२:४८
shares

गण्डकी प्रदेशका तीन वटा स्थानीय तहमा अझैं पनि बाणिज्य बैंकको पहुँच पुग्न सकेको छैन । सुक्रबार पोखरामा आयोजना भाएको संघीय संरचनामा आर्थिक गतिविधि अध्ययन सम्बन्धी अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका निर्देशक हिमप्रसाद न्यौपानेले गण्डकीका ३ स्थानीय तहमा अझै पनि बाणिज्य बैंकको स्थापना गर्न नसकिएको बताएका हुन् ।
गण्डकीका ८५ स्थानीय तह मध्य हालसम्म गोर्खा २ र मनाङको एक स्थानीय तहबाहेक ८२ वटा स्थानीय तहमा बाणिज्य बैंक पुगेको उनले बताए । गण्डकीमा एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाँउपालिका छन् ।
मुलुक संघीय संरचनामा गएसंगै हरेक स्थानीय तहले अनिवार्य रुपमा ‘क’ वर्गको बाणिज्य बैंकबाट कारोबार गर्नु परेकोले हाल गोर्खाको धार्चे र गण्डकी त्यसै गरी मनाङको नार्फु गाउँपालिकामा ‘क’ वर्गको बैकिङ सेवा पुग्न नसक्दा स्थानीय तहबाट बैंकिङ कारोबार गर्न कठिन भएको छ ।
गण्डकीका उक्त स्थानीय तहमा अत्यावश्यक सेवा पुग्न नसकेको भन्दै बैंकहरु नगएको र्बैकर्सहरु बताउँछन् ।
नेपाल राष्ट्र बैंक अनुसन्धान विभागको आयोजना एवम् राष्ट्र बैंक पोखरा कार्यालयको संयोजनमा भएको कार्यक्रममा प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रदेशको आर्थिक विकास र समृद्धिका लागि सरल र सहज ढंगले ऋण प्रवाह गर्न बैंकहरूलाई आग्रह गरे ।
वास्तविक कृषकहरुको पहिचान गरी उनीहरुलाई उत्पादन बढाउने गरी लगानी गर्न आग्रह गर्दै उनले गोर्खाका दुई स्थानीय तहमा अब छिट्टै बैंक स्थापना गर्न सकिने बताउदै मनाङको स्थानीय तहमा केही जोखिम लियर भए पनि बाणिज्य बैंक स्थापना गर्न आग्रह गरे ।
गोर्खाका दुई स्थानीय तहमा हाल विकासको लगभग सबैजसो पूर्वाधार पुगेको उनले बताए ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले प्रदेशमा धेरै बैंकहरु भए पनि ठूलो आयोजनामा लगानी गर्न सक्ने अवस्थामा नभएको टिप्पणी गरे । प्रदेशगत रुपमा अझै पनि वास्तविक तथ्यांक पाप्त हुन नसकेको गुनासो गर्दै उनले यकिन तथ्यांकका आधारमा यहाँको नीति तथा कार्यक्रम सहितको विकासमा सहयोग पुग्ने जनाए ।
विभिन्न बैंकिङ एवम् संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा सहभागीले गण्डकी प्रदेशको आर्थिक समृद्धि हासिल गर्न स्थानीय उत्पादनसँगै सहकारीलाई राम्रोसँग नियमन गर्नुपर्नेमा जोड दिए ।

























