भूकम्पले क्षति पुर्याएका २८७ विद्यालयको पुनर्निर्माण सम्पन्न
वि.सं.२०७६ कात्तिक २१ बिहीवार १७:३०
shares

गोरखा जिल्लामा भूकम्पले क्षति पुर्याएका २८७ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।
भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का इन्जिनियर बाबुराम देवकोटाले जानकारी दिए ।
‘जिल्लामा भूकम्पले कु ४१९ विद्यालयमा क्षति पुर्याएको हो,’ उनले भने, ‘त्यसमध्ये प्राथामिकताका आधारमा विद्यालय भवनको पुनर्निर्माणको काम भइरहेको छ ।’ इन्जिनियर देवकोटाले गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत जिल्लाको ७० विद्यालयमा शौचालय निर्माणसमेत सम्पन्न भइसकेको बताए ।
भवनका हिसाबले हेर्दा जिल्लामा अहिलेसम्म २९५ विद्यालयको भवन पुनर्निर्माण भएको उनले जानकारी दिए । ‘पुनर्निर्माण भएकामध्ये पनि १२० विद्यालयलाई अझै कक्षाकोठा अभाव भइरहेको भन्ने गुनासो छ,’ इन्जिनियर देवकोटाले भने, ‘त्यसका लागि पनि अपुग विद्यालयमा थप कक्षाकोठा निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।’ जिल्लामा यस वर्ष विद्यालय पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।
प्राधिकरणमार्फत जिल्लामा चालुआवमा ६५ विद्यालय भवन निर्माण हुने एकाइले जनाएको छ । ‘आवश्यकताका आधारमा दुईकोठे, तीनकोठे र चारकोठे गरी यो आवमा ६५ विद्यालय भवन निर्माण गर्ने योजना रहेको छ, त्यसका लागि काम सुरु भइसकेको छ,’ उनले भने ।
उनले यो वर्षमा गोरखामा दुईकोठे विद्यालय भवन १०, तीनकोठे पाँच र चारकोठे ५० वटा निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिए । भवन निर्माणका लागि स्थानीय तहहरुले आवश्यकता आधारमा प्रस्ताव पेस गर्ने र त्यसैका आधारमा एकाइले छनोट गरी पुनर्निर्माणको काम अघि बढाउने इन्जिनियर देवकोटाको भनाइ छ ।
जिल्लामा विद्यालय भवन र शौचालय निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट करिब ४० करोड रुपैयाँ बजेट विनियोजन भएको इन्जिनियर देवकोटाले जानकारी दिए । (रासस)

























