पर्यटकीय गन्तव्य बन्दै ‘बाउन्नघोला सिमसार क्षेत्र’
वि.सं.२०७६ कात्तिक २१ बिहीवार १७:५०
shares

पश्चिम नवलपरासीमा रहेको बाउन्नघोला सिमसार क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । पूर्वपश्चिम राजमार्गको भूताहाबाट करिब दुई किलोमिटर उत्तरतर्फ रहेको यो सिमसार क्षेत्रलाई बर्दघाट नगरपालिकाले संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको हो ।
जैविक विविधताले महत्वपूर्ण यस सिमसार क्षेत्रमा पर्यापर्यटनको विकास गरी सिँचाइ सुविधालगायत बहुउपयोगी क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ अहिले यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइरहेको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।
बर्दघाट नगरपालिका-१० स्थित संसारकोट सामुदायिक वन क्षेत्रभित्रको करिब २० हेक्टर क्षेत्रफलमा फैलिएको यो कृत्रिम सिमसार मनोरम, हरियाली वातावरणमा अवस्थित छ । नगरपालिकाले विगत दुई वर्षदेखि यहाँको सिमसार प्रवर्द्धन गर्दै आएको जनाएको छ । नगरपालिकाले यस क्षेत्रलाई गौरवको योजनामा समावेश गरी ठूलो लगानीमा विकास गर्न पहल थालेको नगरप्रमुख बस्यालले बताए । विगतदेखि नै यहाँ सिमसार बनाउन पहल गरिए पनि औपचारिक रूपमा जनप्रतिनिधि आएपछि सार्थकता पाएको हो ।
उनले भने, ‘पर्यावरणको दृष्टिले निकै महत्वपूर्ण यस क्षेत्रलाई बहुउपयोग हुने गरी हामीले अहिले डिपिआर निर्माण गरिरहेका छौँ, यो वर्ष पनि यहाँ संरचना निर्माणको काम हुन्छ, यहाँ पर्यटकीय क्षेत्र पनि हुने, सिँचाइका लागि सहयोग पुग्ने, पारिस्थितिक प्रणालीमा सुधार हुनुका साथै वातावरणीय सन्तुलनमा टेवा पुग्छ ।’ यस सिमसार क्षेत्रलाई नगरपालिकाले प्रवर्द्धन गरी विकास गर्न थालेपछि आन्तरिक पर्यटकहरुको आकर्षण बढ्न थालेको छ । विगतमा यहाँ घनाजंगलको बीचमा ५२ वटा घोला रहेकाले यस सिमसारको नाम बाउन्नघोला सिमसार क्षेत्र रहन गएको बर्दघाट-१० का वडाध्यक्ष राजु मिश्रले बताए ।
‘स्थानीयवासीले विसं २०६२/६३ देखि नै बाउन्नघोला सिमसार संरक्षण मञ्च स्थापना गरी यस क्षेत्रको संरक्षणमा पहल गर्दै आए पनि सफल हुन सकेको थिएन, अहिले नगरपालिकाले विगत दुई वर्षदेखि सिमसार प्रवर्द्धनको पहल थालेपछि यहाँ पानी जम्मा हुन थालेको हो,’ उनले भने ।
उनका अनुसार नगरपालिकाले यहाँ दुई चरणमा गरी सरसफाइ तथा बाँध निर्माण गरेको छ । आव २०७४/७५ मा १४ लाख रुपैयाँ, आव २०७५/७६ मा नगर अनुदानबाट ४ लाख ६० हजार रुपैयाँ र जनसहभागितामा १ लाख २० हजार रुपैयाँ गरी ५ लाख ८० हजार रुपैयाँ तथा सोही वर्ष राष्ट्रपति चुरे-तराई-मधेस संरक्षण समितिबाट २ लाख २७ हजार ५ सय रुपैयाँ सिमसार प्रवर्द्धनका लागि लगानी गरिएको नगरपालिकाका सबइन्जिनियर किशोरकुमार चौधरीले जानकारी दिए ।
नगरपालिकाले गतवर्ष बाँध निर्माण गरेपछि १ सय मिटर चौडाइ र ३ सय मिटर लम्बाइमा किरिब दुई मिटर पानी जम्मा भएको सिमसार संरक्षण मञ्चका अध्यक्ष कुलदेव श्रेष्ठले बताए । ‘पानी जमेको भन्दा थप एक मिटर माथिसम्म आरसिसी ढलान गर्ने र त्यहीँबाट सिँचाइको पानी नियन्त्रण गर्ने गरी संरचना पनि निर्माण गर्ने योजना छ, डिपिआर निर्माणको काम भइरहेकाले हामीले पर्खिरहेका छौँ, अहिले हामीले यहाँको प्रचारप्रसार र संरक्षणलाई जोड दिइरहेका छौँ,’ श्रेष्ठले भने ।
नगरपालिकाको सहयोगमा यस सिमसारमा १ लाख रुपैयाँ बराबरको माछा हाल्ने तयारी पनि भइरहेको उनले बताए । ‘नजिकै रहेको भूताहाखोलालाई डाइभर्सन गरी सिमसारबाट ओभरफ्लो गराई सिँचाइको व्यवस्था गर्ने योजना पनि छ, यहाँबाट बर्दघाट-८ र ९ का धेरै कृषक लाभान्वित हुनेछन्, यसबाट मूल सुक्ने समस्या पनि अन्त्य हुनेछ, पर्यटक आकर्षण गर्ने संरचना पनि निर्माण हुनेछन्,’ उनले भने ।
पर्यटक आकर्षणका लागि पोखरी बनाएर बीचमा भ्युटावर राख्ने, पैदलमार्ग बनाउने, वनभोजस्थललाई विस्तार गर्नेलगायत योजना अघि सारिएको छ । जंगल क्षेत्रमा रहेकाले यहाँको मनोरम हरियाली वातावरणमा रमाउन र वरपरको दृश्यावलोकनका लागि पर्यटक आकर्षित हुने वडाध्यक्ष मिश्रले बताए । सिमसार क्षेत्रको रूपमा विकास हुन थालेपछि यहाँ बिस्तारै चराचुरुंगी तथा जंगली जनावर पनि देखिन थालेका छन् । नगरपालिकाले चासोका साथ यहाँको प्रवर्दधन र विकास गर्न पहल थालेपछि स्थानीयवासी पनि उत्साहित भएका छन् ।
भूमिगत जलको स्रोत, पर्यावरण संरक्षण, जलवायु परिवर्तन, भूक्षय नियन्त्रणमा पनि टेवा पुग्ने भएकाले यो क्षेत्र उत्कृष्ट गन्तव्यस्थल हुने स्थानीयवासीको अपेक्षा छ । यस क्षेत्रको दिगो पर्यटन विकास र सिमसार संरक्षण गर्न सके आकर्षक पर्यटकीय गन्तव्य मात्र नभई यहाँका नागरिकको आर्थिक जीवनस्तरमा पनि ठूलो फड्को मार्ने स्थानीयवासीको भनाइ छ । (मोहन पौडेल/रासस)

























