गृहपृष्ठ बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा
बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा
काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा तीन करोड बराबरको आर्थिक क्षति भएको छ ।
बर्डफ्लु सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो । सङ्क्रमण नियन्त्रणमा आएपछि यही साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ ।
चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सङ्क्रमण देखिएपछि नियमित सरसफाइ, सङ्क्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानी अपनाइएको थियो । त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो ।
उहाँका अनुसार सामान्य दिनमा दैनिक एक हजार ७०० देखि एक हजार ८०० आगन्तुकले चिडियाखाना भ्रमण गर्ने गरेका थिए । शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५०० देखि पाँच हजार जनासम्मले चिडियाखानामा समय बिताउने गरेका थिए । पुनः सञ्चालन भएको पहिलो दिन, साउन १ गते ८०० जनाले मात्र चिडियाखाना भ्रमण गरेका थिए ।
चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकका लागि १००, विद्यार्थीका लागि १५० र अन्य आगन्तुकका लागि २५० प्रवेश शुल्क लिँदै आएको छ ।
गत आर्थिक वर्षमा चिडियाखानाले करिब १८ करोड आम्दानी गरेको थियो । आर्थिक वर्ष २०८२/८३ मा २१ करोड आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि बर्डफ्लुका कारण लामो समय बन्द रहँदा लक्ष्य पूरा गर्न चुनौती थपिएको प्रशासनले जनाएको छ ।
हाल चिडियाखानाको टिकट काउन्टर बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म खुला रहने व्यवस्था गरिएको छ । सबै आगन्तुक साँझ ५ः०० बजेसम्म बाहिरिनुपर्ने व्यवस्था छ । सङ्क्रमणअघि भने टिकट काउन्टर साँझ ६ः०० बजेसम्म खुला रहने गरेको थियो ।
प्रकाशित समय : ०६:१६ बजे



















