गृहपृष्ठ घरजग्गा कारोबार बढ्दा असारसम्म झन्डै १२ अर्ब राजस्व
घरजग्गा कारोबार बढ्दा असारसम्म झन्डै १२ अर्ब राजस्व
काठमाडौं। घरजग्गा कारोबारबाट सरकारले गत असारमा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार राजस्व उठाएको छ । यो आर्थिक वर्ष २०८२/८३ कै सबैभन्दा बढी मासिक राजस्व हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमार्फत लागू हुने भएपछि असारभर किनबेच उल्लेख्य बढेको थियो । त्यसकै प्रभाव राजस्व सङ्कलनमा देखिएको विभागको तथ्यांकले देखाउँछ ।
विभागका अनुसार गत आर्थिक वर्षमा दोस्रो बढी राजस्व वैशाखमा उठेको थियो । त्यस महिनामा रु ६ अर्ब २६ करोड ३८ लाख २९ हजार राजस्व सङ्कलन भएको थियो । चैतमा रु ६ अर्ब १६ करोड ५७ लाख, जेठमा रु ५ अर्ब २४ करोड ४२ लाख, पुसमा रु ५ अर्ब १७ करोड ३२ लाख र माघमा रु ५ अर्ब ९९ लाख राजस्व उठेको थियो ।
वर्षको सुरुआती महिनामा भने घरजग्गा कारोबार अपेक्षाकृत सुस्त देखिएको थियो । साउनमा रु ३ अर्ब २८ करोड ९१ लाख, भदौमा रु ३ अर्ब १४ करोड ७ लाख, असोजमा रु २ अर्ब ७५ करोड ८५ लाख र कात्तिकमा रु २ अर्ब ७४ करोड ५१ लाख राजस्व सङ्कलन भएको विभागले जनाएको छ । मङ्सिरमा रु ४ अर्ब ८४ करोड ८१ लाख र फागुनमा रु ४ अर्ब १४ करोड ९५ लाख राजस्व उठेको थियो ।
विभागका अनुसार कर बढ्नुअघि कारोबार टुंग्याउन सेवाग्राहीको चाप बढेकाले असारमा किनबेच उल्लेख्य बढेको हो । यही कारण घरजग्गा कारोबारबाट उठेको राजस्व कोरोना महामारी र २०७२ सालको गोरखा भूकम्पपछिकै उच्च रहेको विभागको विवरणमा उल्लेख छ ।
प्रकाशित समय : ०६:१९ बजे



















