औद्योगिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ : मन्त्री खड्का
वि.सं.२०८१ साउन १६ बुधवार २०:३७
shares

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले औद्योगिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएको छ ।
नेपाल उद्योग परिसङ्घले आज सिंहदरबारस्थित मन्त्रालयमा गरेको भेटमा मुलुकको ऊर्जा क्षेत्रको विकासका क्रममा देखिएका नीतिगत समस्या समाधान गर्दै औद्योगिक वातावरण निर्माणमा सरकार लागेको बताएको हो । “सरकारले १० वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ, उक्त लक्ष्यलाई पूरा गर्न देखिएका अफ्ठ्यारालाई हल गर्दै सरकार अगाडि बढ्छ”, मन्त्री खड्काले भने ।
ऊर्जा क्षेत्रको विकासका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बतादै मन्त्री खड्काले उद्योगी व्यवसायीको आम्दानी वृद्धि हुने गरी सरकारले काम गर्ने भएकाले सोहीअनुसार कर तिर्नसमेत व्यवसायीलाई आग्रह गरे।
भेटमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले अझै पनि कतिपय उद्योगीले लोडसेडिङको समस्या भोग्नुपरेकाले समाधानका लागि सहजीकरण गर्न मन्त्रीसमक्ष आग्रह गरे । ऊर्जा उत्पादनलाई बढाउनका लागि सरकारले विद्युत्सँगै वैकल्पिक ऊर्जामा ध्यान दिनुपर्ने बताए । गुणस्तरीय बिजुली नभई देशको विकास हुन नसक्ने उनको भनाइ थियो ।

























