गृहपृष्ठ ज्ञानेन्द्र शाहमाथि ओलीको व्यंग्य- अस्ति मेचीमा दियो बाल्नुभयो होला, यति भए भएकै छ त
ज्ञानेन्द्र शाहमाथि ओलीको व्यंग्य- अस्ति मेचीमा दियो बाल्नुभयो होला, यति भए भएकै छ त
पूर्वराजा ज्ञानेन्द्र शाहमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यंग्य गरेका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र आफ्नो वरिपरि दुई-चार जना मान्छे देखेपछि हौसिएको टिप्पणी गरे ।
‘ज्ञानेन्द्रजी आफैँ अलमलमा हुनुहुन्छ । उहाँ अझै पनि त्यो पुरानो झल्कोमा हुनुहुन्छ,’ ओलीले भने, ‘२-४ जना मान्छे वरिपरि देख्नेबित्तिकै झल्कोले उहाँलाई अलिअलि जोस्याउँछ, त्यति मात्र हो ।’
पूर्वराजा शाहले प्रजातन्त्र दिवसकाे अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै राजनीतिक दलसँग सहकार्यको प्रस्ताव गरेका थिए । राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले समृद्धिमा योगदान दिन नसकेको र प्रजातन्त्र नै जोखिममा परेको उनले दाबी गरेका छन् ।
ओलीले पूर्वराजा शाहसँग सहकार्य गर्नुपर्ने कुनै कारण नै नरहेको बताएका छन् । उनले भने, ‘ज्ञानेन्द्रजीसँग के सहकार्य गर्ने ? उहाँ आफैँ पोलिटिक्स गरिरहनुभएको छ । अस्ति दियो बाल्नुभयो होला मेचीमा गएर, यति भए भएकै छ त ।’
प्रकाशित समय : १४:४३ बजे



















