nmb bank

गृहपृष्ठ आवश्यक छ, क्रान्तिको अर्को झिल्को

आवश्यक छ, क्रान्तिको अर्को झिल्को

आवश्यक छ, क्रान्तिको अर्को झिल्को

एउटा देश र त्यस देशका आममानिसको ‘राम्रो दिन’ आउनका लागि कति वर्ष लाग्छ ? यसको कुनै मापन नहोला । यो भनेको राजनीतिक नेतृत्वको क्षमता र उसको कार्यशैलीमा भर पर्ने कुरा हो, पक्कै पनि ।

हो, हाम्रा महान पुर्खाले देश र सन्ततिको मुहार फेर्न आफ्नो जीवनको आहुति दिए । जहानियाँ र निरकुंश राणा शासनबाट मुक्त गरे । यो दिन विसं २००७ फागुन ७ थियो । यसैले यसलाई हामीले प्रजातन्त्र दिवस भन्यौं । नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन बन्यो यो ।

आजभन्दा ७३ वर्ष अगाडि नेपाली जनताले आमजनताको पोल्टामा प्रजातान्त्रिक अधिकार दिलाउनका निम्ति गोली खाए, फाँसीमा झुण्डिए अनि जेलनेल भोगे । कठोर संघर्ष गरे । १०३ वर्ष जरो गाडेर बसेको जहानियाँ निरंकुश व्यवस्थामाथि विजय हासिल गरेरै छाडे ।

समय बित्दै गयो । तर पनि प्रजातन्त्रको उज्यालो निमुखा र गरिब जनताको झुपडीभित्र पस्न सकेन । जुन रफ्तारका साथ देशको विकास हुनुपर्ने हो, हुन सकेन । आमजनताको जीवनशैलीमा खासै सुधार हुन सकेन ।

२०१५ मा भएको आमनिर्वाचनपछि प्रजातान्त्रिक सरकार गठन भयो । केही सकारात्मक संकेतहरु देखिँदै थियो । तर त्यसलाई पनि देशीविदेशी शक्तिले अपदस्थ गरिदिए ।

देश फेरि एकपटक अँध्यारो युगमा प्रवेश गर्‍यो । सक्रिय राजतन्त्रमार्फत पञ्चायती व्यवस्था लाद्ने काम भयो । नेपाली जनतामा धैर्यता थियो । ‘राम्रो दिन’ आउँछ कि भन्ने केही आशा राजाबाट पनि नगरेको होइन । तर ‘भगवान विष्णुको अवतार’ भनिएका राजाले पनि मुलुक र जनताको मुहार फेर्न सकेनन्/चाहेनन् ।

२०४६ मा फेरि एकपटक जनआन्दोन भयो । यो आन्दोलन राजालाई संविधानको घेराभित्र राख्ने र मुलुकमा बहुदलीय व्यवस्था ल्याउने उद्देश्यमा केन्द्रित थियो । जनताले सहादत दिए । मुलुकले २०१७ मा गुमाएको प्रजातन्त्र २९ वर्षपछि पुनर्स्थापित भयो । तर दलीय तन्त्रले पनि मुलुकमा आर्थिक समृद्धि ल्याउन सकेन । जनताले जे चाहेका थिए, लेख्ने-बोल्ने स्वतन्त्रताबाहेक अरु केही हुन सकेन । इतिहासको एउटा कालखण्डदेखि पछाडि पारिएको वर्गको न उत्थान हुन सक्यो न त राज्य संयन्त्रमा उनीहरुको पहुँच नै पुग्न सक्यो । नेपाली समाजमा राणाकालीन समयदेखि नै जुन वर्गले रजाई गर्दै आएको थियो, यस बेलासम्म पनि त्यही वर्गको हालीमुहाली चल्यो । चल्दै छ । दलीय व्यवस्था आएपछि सीमित केही नेता र उनका आसेपासे तथा केही भुईँफुट्टा वर्गले राज्यको स्रोत र साधनको गर्नुसम्म दुरुपयोग गरे । अनि जनता फेरि पछाडि नै छुटे । अग्रगमन, सामाजिक न्याय र आर्थिक-सामाजिक रूपान्तरणको अनुभूति आमजनताका लागि धेरै टाढाको कुरा भए ।

देश र जनताको मुहार फेर्न कसम खाएर २०५२ फागुन १ देखि नेकपा माओवादीले ‘जनयुद्ध’ प्रारम्भ गर्‍यो । १७ हजार जनता मारिए । माओवादी राजनीतिको मूल प्रवाहमा आयो । उसले शासन पनि लियो । प्रजातन्त्रबाट देश गणतन्त्रमा गयो । तर नतिजा ! बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नेतिर प्रमुख राजनीतिक दलहरु कसैको ध्यान पुग्न सकेन । दशकौंदेखिको नेपाल र नेपाली जनताको विकास तथा समृद्धिको राष्ट्रिय चाहना पूरा हुन सकेन । उपेक्षित, उत्पीडित, सीमान्तकृत एवं विभेदमा पारिएका वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको स्थिति रुपमा केही बदलिएको देखिए पनि सारमा उही छ, आज पनि ।

सिंहदरबार पुगेका जनताका प्रतिनिधिले देश र जनतालाई समृद्धितिर लैजान्छन् भन्ने विश्वास आजका दिनसम्म कसैलाई पनि छैन । प्रजातन्त्र स्थापनाको ७३ वर्ष पुगिसक्दा पनि देशको अवस्था झन् झन् नाजुक छ । हाम्रो राजनीतिक नेतृत्वका लागि शक्ति र पैसा प्रधान बनेको छ । यस्तो स्थितिमा जनताले कोबाट किन र के आश गर्ने ?

जबसम्म अरुले लादेको आन्दोलनलाई जनताले आफ्नो ठानिरहन्छन् तबसम्म जनतामाथि पटक-पटक धोखा हुँदै जाने निश्चित छ । यसैले अब हामीले यस्तो आन्दोलन गर्नुपरेको छ, जुन आन्दोलन नेपाली जनताका लागि नेपाली जनताद्वारा हुनेछ ।

यसैले यो देशले अब अर्को क्रान्तिको तयारी गर्नैपर्छ । यो दिन चाँडै आउनेछ र यसले साँच्चै नै उलटफेर ल्याउनेछ । कवि गोपालप्रसाद रिमालले भनेजस्तै, हो- त्यो दिन आउँदैछ । बिहानको सूर्यझैं उज्यालो छर्दै आउँदैछ ।

प्रकाशित समय : १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु