काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘ढुक्कले अझै खानेपानी पाइँदैन’

10.47K
shares

बागलुङ नगरपालिका-६ का झण्डै एक दर्जन गाउँका बासिन्दाले हिउँदको समयमा घाँटी भिजाउने पानीको मुहान गाउँभन्दा झण्डै छ किलोमिटर टाढाको गाउँमा छ । बागलुङ नगरपालिका-७ मा रहेको तितौरे गाउँको पानी वर्षौं लगाएर यहाँ ल्याइएको हो ।

अहिलेभन्दा २१ वर्ष पहिले सुरु भएको पानी ल्याउने काम केही वर्षमा पूरा भएपछि गाउँमा पानी त आयो तर हिउँद बर्खा दुवै सिजनमा ढुक्कले गाग्री भर्न भने यहाँका सर्वसाधारणले अझै पाएका छैनन् । लामो दूरीमा पाइपलाइन भएकाले वर्षामा बाढी पहिरोको शिकार हुने र हिउँदमा मुहान सुक्ने र पानी कम हुने समस्याले सर्वसाधारण समस्यामा छन् ।

असारदेखि फागुनसम्म चाहिने जति पानी पाउने गरेका यहाँका सर्वसाधारणलाई फागुन, चैत र वैशाखमा पर्ने खडेरीले निकै पिरोल्छ । चैत वैशाख र जेठमा वर्षा हुँदा गाउँमा खुशियाली छाउँछ । 'आकाशको पानी आउँदा मुहान सर्सिन्छन्, हामीले पानीको समस्या भोग्नुपर्दैन्, नत्र पानी सुकेर धारा हुन्छ पानी हुँदैन', बागलुङ नगरपालिका-६ का मानबहादुर केसीले भनिन्, 'पहिलाभन्दा घर पनि बढेका छन्, पानी धेरै चाहिन्छ तर आउने पानी कम हुन्छ ।'

वर्षा हुँदा खानेपानीको समस्या कम हुने भएकाले गाउँले सबै खुसी हुने गरेका छन् । यो वडा बागलुङ नगरपालिकाको केन्द्र बागलुङ बजारदेखि नजिकै उत्तर क्षेत्रमा पर्छ । यहाँ नजिकमा पानीका मुहान निकै कम भएकाले खानेपानीको अधिकांश गाउँमा समस्या थियो । २०५८ सालमा छ किलोमिटर टाढा तितौरेबाट पानी ल्याउने काम सुरु भएको भए पनि २०६४ सालमा गाउँमा पानी आएको केसी सम्झन्छन् ।

'ट्याङ्कीमा जम्मा गरेर घर घरमा पुगेका पाइपमा पानी बाँढेर काम चलाइएको छ, धारा बनाउन र पानी व्यवस्थित गर्न अझै बाँकी छ', केसीले भने, 'यसअघि वडाले पहिला पानी नभएका ठाउँमा काम गर्यो, जसोतसो चलेकै थियौँ, अब व्यवस्थित होस् भन्ने लागेको छ ।' २१ वर्ष पहिले जडान भएको पानी ल्याउने पाइप सानो भएको र मुहान थप गरेर भएपनि बाह्रै महिना २४ सैँ घण्टा पानी आउने वातावरण हुनुपर्ने केसीजस्तै वडावासीको माग छ ।

यो मुहानको पानी यहाँका ४०० घरपरिवारले प्रयोग गर्ने गरेका छन् । बागलुङ नगरपालिका-६ का २५० परिवारमा अझै पनि खानेपानीको समस्या छ । लाकुरीबोट, धारापानी, पैञ्युपाटा, भान्साको छापलगायतका गाउँमा उपयुक्त मुहानको अभावमा घरघरमा पानी पुर्‍याउन समस्या रहेको वडाध्यक्ष रुद्रबहादुर कसीले बताए ।

सर्वसाधारण पुराना पँधेरा र कुँवाको भरमा खानेपानीको जोहो गर्ने गरेका छन् । ती पँधेरा र कुवासमेत सुक्खा समयमा सुक्ने भएकाले लिफ्टििङ प्रविधिबाट त्यहाँ पानी पुर्‍याउने योजना रहेको उनले सुनाए । 'बर्खाको समयमा खासै पानीको समस्या हुँदैन्, हिउँदमा खडेरी परे मुहान सुक्छन् र समस्या निम्तिन्छ', केसीले भने, 'सुक्खा समयमा पनि एक दुईपटक वर्षा हुँदा मुहान सर्सिन्छन् र त जनताका घाँटी भिजेका छन् ।'

पानीको स्रोत थोरै र उपभोक्ता धेरै भएकाले अझै पनि खानेपानीको समस्या झेल्नुपरेको स्थानीय युवा दीपक सापकोटा बताउँछन् । सरकारले एक घर एक धारा कार्यक्रम सञ्चालन गरिरहेको भए पनि यहाँका सर्वसाधारण सबैको घरमा अझै धारा पुगेको छैन । 'मौरीभिरको गाउँमा एउटै धाराबाट पाँच परिवारले पानीको जोहो गर्छन्', सापकोटाले भने, 'घरघरै धारा बनाउन त पानीको मुहान चाहियो नि !'

वडा नं ६ को भीरलांकरी, लंगाउँ, तिनतलेलगायतका ठाउँमा लिफ्टििङ प्रविधिबाट पानी पुर्‍याइने र बाँकी गाउँमा समेत उपयुक्त मुहानको खोजी गरेर खानेपानी आयोजना सञ्चालन गरिने वडाध्यक्ष केसीले बताए ।