गृहपृष्ठ माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरूको दोस्रो दिनको प्रशिक्षण सुरु
माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरूको दोस्रो दिनको प्रशिक्षण सुरु
नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण चलाइरहेको छ । बिहिबार दोस्रो दिन पनि माओवादी केन्द्रले कुमारी हलमा प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणको बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । पहिलो दिन प्रचण्डललगायत केही विज्ञहहरुले प्रशिक्षण दिएका थिए ।
आजको प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माणलगायत विषयमा पार्टीका नेता र विज्ञहरूले प्रशिक्षण दिने नेकपा माओवादी केन्द्रले जनाएको छ ।
आज अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम र बजेट’, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले ‘स्थानीय तहको नीति, योजना र कार्यक्रम’, पूर्वमन्त्री एवं पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुनले ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद’, चार्टर्ड एकाउन्टेन्ट चन्द्रकान्त भण्डारीले ‘स्थानीय तहको लेखा प्रणाली’बारे प्रशिक्षण दिनेछन् ।
‘स्थानीय तहको बजेट निर्माण’ विषयमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, ‘स्थानीय तहको विद्यालय शिक्षण सिकाइ’, विषयमा सुलभ बुढाथोकी, ‘स्थानीय तहमा विज्ञान प्रविधिको प्रयोग’ विषयमा पार्टीको विज्ञान तथा प्रविधि विभागका प्रमुख एवं पूर्वमन्त्री गणेश साह, ‘स्थानीय तहमा सूचना प्रविधि’ विषयमा डा. शैलेन्द्र गिरी र ‘स्थानीय तहमा वन, वातावरण र विपद् व्यवस्थापन’सम्बन्धमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले प्रशिक्षण दिने कार्यक्रम छ ।
अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका प्रत्येक प्रदेशबाट एकरएक स्थानीय तहका प्रमुखले अनुभव पनि सुनाउने कार्यक्रम राखिएको छ ।
प्रकाशित समय : १५:१० बजे



















