काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेडिकल शिक्षा सुधारका लागि प्रधानमन्त्री कार्यालयमा सरोकारवालाबिच छलफल

693
shares

काठमाडौं । मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताका विषयमा समीक्षा गरिएको हो ।

बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीशप्रसाद अग्रवाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्रबहादुर खत्री, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा तथा प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो ।

छलफलमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग भएको सम्झौता तथा चिकित्सा शिक्षा सुधारका विषमाय भएको सम्झौताका कार्यान्वयनलाई विशेष प्राथमिकता दिइएको थियो ।

वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा विद्यार्थी र व्यवस्थापनबीच देखिएको विवाद समाधान गर्न समिति गठन गरी पठाउने तथा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा छलफल भएको छ ।

त्यसैगरी, कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्थामा अध्यादेशमार्फत संशोधन प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

बैठकमा शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका क्रममा उठेका समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले डा. केसीसँग भएका सम्झौता कार्यान्वयनका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने स्पष्ट पारे ।

चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन आयोगलगायत सम्बन्धित संस्थाहरूबिच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. अग्रवालले सम्झौता कार्यान्वयनसँगै मेडिकल शिक्षालाई सुदृढ, गुणस्तरीय र प्रभावकारी बनाउन अन्तरमन्त्रालय तथा सम्बन्धित निकायबिच सहकार्य अपरिहार्य रहेको बताए ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. खत्रीले चिकित्सा शिक्षाको गुणस्तर सुधार तथा नतिजा समयमै सार्वजनिक गर्नेलगायतका विषयमा आयोगले आवश्यक काम गरिरहेको जानकारी दिए ।

बैठकले चिकित्सा शिक्षा सुधारका लागि नीतिगत पहल र अन्तरनिकाय समन्वयलाई तीव्रता दिने दिशामा जोड दिएको छ ।