एसिया कप क्रिकेटः नेपालले पकिस्तान ‘ए’विरुद्ध फिल्डिङ गर्दै
वि.सं.२०८३ मंसिर ८ मंगलवार १७:०८
shares

काठमाडौँ । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले ट्स हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।
कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा भरखरै भएको ट्समा पाकिस्तान ‘ए’ले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।
प्रतियोगितामा नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा भारतविरुद्ध ३०६ रनको हार व्यहोरे पनि दोस्रो खेलमा युएईविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै छ विकेटको जित निकालेको थियो ।
नेपाल आज पनि सानदार प्रदर्शन गर्दै पाकिस्तान ‘ए’ लाई हराउने योजनामा छ । एक खेल अगावै सेमिफाइनल पुगिसकेको पाकिस्तान ‘ए’को लगातार तेस्रो जित निकाल्ने योजना छ । उसले पहिलो खेलमा युएई र दोस्रो खेलमा भारत ‘ए’लाई हराएको थियो ।
इमर्जिङ कपमा हालसम्म नेपाल र पाकिस्तान ‘ए’बीच एक पटक मात्र भेट भएको छ । सन् २०२३ को संस्करणमा पाकिस्तानविरुद्ध नेपालले ४ विकेटको पराजय व्यहोरेको थियो । नेपाल जारी प्रतियोगितामा २ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । समूह ‘बी’ मै रहेको पाकिस्तान ४ अङ्कसहित शीर्ष स्थानमा छ ।

























