सभामुख अर्यालसँग कतारका राजदूत अन्सारीको भेट
वि.सं.२०८३ मंसिर ८ मंगलवार १७:२६
shares

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीले शिष्टाचार भेट गरेका छन् ।
सङ्घीय संसद् सचिवायस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा उनीहरुबीच नेपाल र कतारबीचको सम्बन्ध र आपसीहित विषयमा विचार विमर्श भएको थियो ।
सो अवसरमा सभामुखले भोटेकोशी बाढीपछि कतार सरकारले प्रदान गरेको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद ज्ञापन गर्दै नेपालको पुनः निर्माण तथा पुनः स्थापनामा थप सहयोगको अपेक्षा गरे ।
त्यस अवसरमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्य थप सुदृढ भइरहेको बताएका उनको सचिवालयले जनाएको छ ।
उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुई देशबीच रहँदै आएको सहकार्यलाई निरन्तरता दिनुपर्ने र विश्व शान्ति तथा स्थायित्वका लागि संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
सभामुख अर्यालले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पुर्याएको योगदानको चर्चा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्यमा जोड दिएका थिए ।
उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानी भित्र्याउन आग्रह गरे ।
नेपालको कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सम्भावनाबारे चर्चा गर्दै सभामुख अर्यालले नेपालबाट उत्पादित फलफूल, तरकारी, अन्नलगायतका कृषि उपज कतारमा निर्यात गर्ने वातावरण निर्माणका लागि आवश्यक समन्वय गर्न आग्रह गरे ।
त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न तथा हवाई सम्पर्क विस्तारमार्फत पर्यटन र व्यापार प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए ।
सभामुख अर्यालले खेलकुदको विकास र प्रवद्र्धनका लागि पनि दुई देशबीच सहकार्य विस्तार गर्न आग्रह गरे । भेटमा राजदूत अन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताएका सचिवालयले जनाएको छ ।

























