‘एन्टिबायोटिक’ औषधिको प्रयोगले स्वास्थ्यमा गम्भीर चुनौती : स्वास्थ्यमन्त्री पराजुली
वि.सं.२०८३ मंसिर ८ मंगलवार १७:३२
shares

विराटनगर । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले चेतनाको कमी, अव्यवस्थित जीवनशैली र रोग प्रतिरोधात्मक औषधिको जथाभावी प्रयोगले समाजमा गम्भीर स्वास्थ्य चुनौती थपिएको बताएका छन ।
प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य प्रतिजैविक प्रतिरोध न्यूनीकरण’ का लागि अन्तरमन्त्रालयलगायत सरोकारवाला पक्ष सम्मिलित गोष्ठीको उद्घाटन गर्दै उनले सामान्य ज्वरो, रुघाखोकी लाग्दा पनि ‘एन्टिबायोटिक’ औषधि प्रयोग गर्ने प्रवृतिले मुलुकको स्वास्थ्य क्षेत्रमा जोखिम बढेको बताए ।
स्वास्थ्यमन्त्री पराजुलीले चिकित्सकको सल्लाहबिना ‘एन्टिबायोटिक’ प्रयोग नगर्न अनुरोध मानव स्वास्थ्यमा दीर्घकालीन हानी गर्ने औषधिको सेवनसम्बन्धी विषयमा जनचेतना फैलाउनुपर्ने तथा स्पष्ट मापदण्ड एवं कानुन बनाएर औषधि पसलहरूको अनुगमन, सेवाको मूल्याङ्कन तथा नियमन गर्नुपर्नेमा जोड दिए।
यसैगरी, प्रदेशका स्वास्थ्य सचिव डा कीर्तिपाल सुवेदीले ‘एन्टिबायोटिक’ को जथाभावी हुने प्रयोग घटाउन र अस्पतालभित्र हुने सङ्क्रमण नियन्त्रण गर्न स्पष्ट मापदण्डसहित नियमनकारी गतिविधि र जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।
गोष्ठीमा डा सभ्यता पन्थी, औषधी व्यवस्था विमागका राजेश श्रेष्ठ, डा मुकेश नायक, डा किशोर गुरुङ, नेपाल पत्रकार महासङ्घ कोशीका उपाध्यक्ष कुमोद अधिकारी, डा रामहरि रेग्मीलगायतले समाजका सबै पक्षको साथसहयोगमा स्थानीयस्तरमा ‘एन्टिबायोटिक’ औषधि प्रयोगसम्बन्धी सचेतना फैलाउनुपर्ने सुझाव दिए ।

























