मधेश प्रदेशको विजयी सुरुवात
वि.सं.२०८३ मंसिर ८ मंगलवार १९:११
shares

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार भएको पुरुष फुटबलको दोस्रो खेलमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ । सुदूरपश्चिम प्रदेशलाई १–० गोलले पराजित गर्दै मधेशले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
खेलको पहिलो हाफमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि कुनै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफमा मधेश प्रदेशका विकास दर्लामीले खेलको ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
खेल ढिलो गरी सुरु भएका कारण निर्धारित समय घटाइएको थियो । मधेश र सुदूरपश्चिमबीचको खेल ३५–३५ मिनेटमा सीमित गरिएको थियो ।
यसअघि मंगलबार नै भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
पुरुष फुटबलअन्तर्गत बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन् ।

























