काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चलचित्र विधेयकमाथि समितिमा दफावार छलफल

252
shares

नाकाठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूच प्रविधि समितिमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल भएको छ । समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्ने सांसदसँग छलफल गरिएको हो ।

समिति सभापति डा ओजस्वी शेरचनले विधेयकका विभिन्न २६ वटा दफामा १२२ वटा संशोधन प्रस्ताव परेको जानकारी दिए । बैठकमा संशोधन प्रस्ताव प्रस्तुत गर्ने सांसदहरूले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, समस्या र सुधारका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

छलफलका क्रममा सांसदले चलचित्र क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र आत्मनिर्भर बनाउन विधेयकमा आवश्यक कानुनी व्यवस्था समेट्नुपर्नेमा जोड दिए । सांसद भूमिका श्रेष्ठले लैङ्गिक, अल्पसङ्ख्यक तथा समाजमा पछाडि पारिएका वर्गलाई चलचित्रमा विभेदकारी भाषा, शैली र व्यवहारबाट हुने असर रोक्न कानुनी व्यवस्था गर्नुपर्ने बताए । समाजमा जनचेतना अभिवृद्धि गर्ने चलचित्र निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

सांसद सुशीला ढकाल (आचार्य)ले चलचित्र क्षेत्रलाई राज्यका तर्फबाट सहजीकरण गर्ने, आवश्यक साधनस्रोत उपलब्ध गराउने तथा चलचित्र विकास बोर्डलाई अधिकारसम्पन्न बनाउने व्यवस्था विधेयकमा समेट्नुपर्ने बताए । चलचित्र सेन्सरसँग सम्बन्धित व्यवस्थाको पुनरावलोकन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

सांसद गणेशबहादुर विश्वकर्माले चलचित्र क्षेत्रलाई आत्मनिर्भर र कलात्मक क्षेत्रका रूपमा पुनःपरिभाषित गर्नुपर्ने बताए । चलचित्रको परिभाषा परिवर्तन गर्नुका साथै चलचित्र जाँच समितिको नाम परिवर्तन गरी चलचित्र वर्गीकरण समिति बनाउनुपर्ने उनको सुझाव थियो ।

सांसद प्रकाशचन्द्र परियारले चलचित्र क्षेत्रले नेपालको अन्तरराष्ट्रिय पहिचान र सफ्ट पावरका रूपमा काम गर्न सक्ने सम्भावना रहेकाले यसको प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । चलचित्र जाँच प्रक्रियामा मौलिकता, भाषा र संस्कृतिको प्रवर्द्धनलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
चलचित्रलाई नाफा आर्जनको माध्यमका रूपमा मात्र नभई भाषा, संस्कृति र मौलिक कल्पनाको प्रवर्द्धन गर्ने माध्यमका रूपमा हेर्नुपर्ने उनले बताए ।

सांसद सुभल खरेलले चलचित्र जाँच समितिले गरेको निर्णयमा चित्त नबुझेमा सिधै अदालत जानुभन्दा सुरुमा मन्त्रालयमा उजुरी गर्न सकिने व्यवस्था विधेयकमा राख्नुपर्ने सुझाव दिए ।

त्यस्तै, सांसद कमल सुवेदीले चलचित्र क्षेत्रसँग सम्बन्धित विषयलाई सङ्घ, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्रसँग जोडेर स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने बताए ।

छलफलमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्न समयानुकूल नयाँ कानुन ल्याउन लागिएको बताए । उनले चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी कला, संस्कृति, भाषा प्रवर्द्धन, सूचना प्रवाह, सिर्जनशीलता र आर्थिक विकासमा योगदान पु¥याउने उद्योगका रूपमा विकास गर्ने उद्देश्यले विधेयक तयार गरिएको स्पष्ट पारे ।

उनले चलचित्र सेन्सर र वर्गीकरणबीचको भिन्नता स्पष्ट पार्दै यससम्बन्धी कानुनी व्यवस्था अन्तरराष्ट्रिय अभ्यासअनुसार परिमार्जन गर्नुपर्ने बताउनुभयो । कुन विषयमा सेन्सर आवश्यक हुन्छ र कुन विषयलाई वर्गीकरणमार्फत व्यवस्थापन गर्न सकिन्छ भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।

सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्र विकास बोर्डको उद्देश्य, भूमिका, अधिकार र नेतृत्वसम्बन्धी व्यवस्था पनि कानुनबाटै स्पष्ट हुनुपर्ने बताए । बोर्डलाई प्रभावकारी रूपमा काम गर्न सक्ने गरी संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै आवश्यक स्वायत्तता र अधिकार प्रदान गर्नुपर्ने उनको धारणा थियो ।

समिति सभापति डा शेरचनले चलचित्र क्षेत्रका सरोकारवालासँग गहन छलफल गरी विधेयकलाई थप परिष्कृत बनाइने बताए । चलचित्रले नेपालको भाषा, संस्कृति, पहिचान र राष्ट्रिय हित प्रवर्द्धन गर्ने भएकाले यसको विकास र संरक्षणलाई ध्यानमा राखेर आवश्यक कानुनी व्यवस्था गरिने उनको भनाइ थियो ।

सरकारले विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गर्दै चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन, नियमन र व्यावसायिक विस्तारका लागि चलचित्र विधेयक, २०८१ अघि बढाएको हो । विधेयकमा चलचित्र विकास बोर्डलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउने, चलचित्र निर्माण, वितरण तथा प्रदर्शनलाई व्यवस्थित गर्ने र बोर्डको नियमनकारी भूमिकालाई प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ ।

विधेयकमा चलचित्र प्रदर्शनमा बक्स अफिस प्रणाली अनिवार्य गरी टिकट बिक्री, आम्दानी, कर, प्रदर्शन अवधि तथा दर्शकको रुचिसम्बन्धी विवरण पारदर्शी बनाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ । त्यसैगरी चलचित्रकर्मीको श्रम अधिकार र सामाजिक सुरक्षा, मातृभाषाका चलचित्रको प्रवर्द्धन, आदिवासी जनजाति समुदायका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण, स्वदेशी चलचित्रको बजार विस्तार, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने विषय समेटिएका छन् ।

नेपाललाई अन्तरराष्ट्रिय चलचित्र छायाङ्कन तथा निर्माणको आकर्षक गन्तव्य बनाउने, चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाली चलचित्रको अन्तरराष्ट्रियकरणमा सहयोग पु¥याउने लक्ष्य पनि विधेयकले राखेको छ ।