थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि
वि.सं.२०७९ जेठ १० मंगलवार ००:३१
shares

देशभर पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार ७६८ जनाको कोरोना परीक्षण गरिएको थियो ।
दुई हजार २३३ जनाको पीसीआर विधिबाट र ५३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९९१ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३१ हजार ३८८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या १३३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । हाल होम आइसोलेसनमा १३३ संक्रमित छन् ।
हाल देशभर कोही पनि कोरोना संक्रमित नभएका जिल्लामा ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, पर्सा, सप्तरी, रौतहट, बारा, धनुषा, दोलखा, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, रुकुमपूर्व, कपिलवस्तु, प्युठान, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा छन् ।
हाल काठमाडौँमा १९ र ललितपुरमा ११ कोरोना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

























