विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा
वि.सं.२०८३ मंसिर १० बिहीवार ०५:३२
shares

रूपन्देही। विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित पोखराबाट सुरु भएको मनोक्रान्ति विश्वशान्ति ध्यानमय पदयात्रा रूपन्देही आइपुगेको छ । विकासानन्द फाउन्डेसन विश्व परिवार, गण्डकी प्रदेशको आयोजनामा यही मङ्सिर ३ गते पोखरा–२३ स्थित इको स्पिरिचुअल योग आश्रम, बाराङबाट सुरु भएको पदयात्रा बुधबार बुटवल आइपुगेको हो ।
मनोक्रान्ति अभियानका नेता तथा आध्यात्मिक गुरु डा योगी विकासानन्दले पदयात्रामार्फत प्रत्येक पाइलालाई ध्यानसँग जोड्दै मानसिक शान्ति, आत्मिक आनन्द र सकारात्मक सोचको अभ्यास गराइने बताए । उनले चक्रमण ध्यानले मनलाई वर्तमानमा केन्द्रित गर्न तथा विचारको चञ्चलता कम गर्न सहयोग पुग्ने धारणा राखे ।
करिब २२० किलोमिटर दूरीको पदयात्रामा नौमहिने ध्यान शिविरमा सहभागी २५ जनासहित ३६ जना साधकसाधिका सहभागी छन् । यो अभियानको दोस्रो संस्करण हो । यसअघि पोखराको आश्रमदेखि गोरखनाथ मन्दिरसम्म १२० किलोमिटर पदयात्रा गरिएको थियो ।
पदयात्राका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले डा योगी विकासानन्दलाई कर्णेल उजिरसिंहको तस्बिरसहित सम्मान गरे । योगी विकासानन्द र गुरुआमा कमलेश्वर आनन्दलाई बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा जनप्रतिनिधि नरिश्वर शर्मा पौडेल, अभियन्ता नारायणप्रसाद घिमिरेलगायतले स्वागत गरेका थिए । पदयात्रा टोलीले लुम्बिनी पुगेर कार्यक्रमको समापन हुनेछ ।

























