गृहपृष्ठ बुद्ध दर्शन र संस्कृति संसारमै लोकप्रिय छ : मन्त्री पौडेल
बुद्ध दर्शन र संस्कृति संसारमै लोकप्रिय छ : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय भएको बताएका छन् ।
शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा उनले गौतमबुद्धले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठुलो योगदान दिएको उल्लेख गर्दै बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताए ।
मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सद्भाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उनका विचार विश्वभर नै धेरै लोकप्रिय हुन सकेको बताए । ‘बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका राजनेता र दार्शनिकलाई हार्दिक आग्रह गर्दछु,’ मन्त्री पौडेलले भने, ‘शान्तिका अग्रदूत गौतमबुद्धले सम्पूर्ण मानव जगतकाे कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गरेका बोधि ज्ञान आजसम्म पनि उत्तिकै शास्वत रहेको छ ।’
उनले नेपालीले गर्व गर्ने महत्वपूर्ण विषय भनेको गौतमबुद्ध नेपालमा जन्मिएका उल्लेख गरे । गौतमबुद्धले मानवकल्याण र शान्तिका लागि ठुलो योगदान दिएका छन् । मन्त्री पौडेलले भने, ‘उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौँ, उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ ।’ उनले हजारौँ हजार वर्षसम्म गौतमबुद्धका उपदेश जीवित रहने बताए ।
प्रकाशित समय : २२:१८ बजे



















