गृहपृष्ठ कर्णालीको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक
कर्णालीको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक
प्रदेशको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको कर्णाली पदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । रारामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न चिनियाँ लगानीकर्ताको टोलीसहित मुगु पुगेर फर्केपछि सुर्खेत विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
‘कर्णाली प्रदेशमा पर्यटन, जलविद्युत्, सडक र विमानस्थल निर्माणका लागि अन्तराष्ट्रिय लगानी आवश्यक छ,’ मुख्यमन्त्री शाहीले भने, ‘यसको लागि कर्णाली सरकारले आवश्यक पहल गरिरहेको छ ।’
कर्णाली प्रदेश सरकारको विशेष आग्रहमा नर्थ वेस्ट एभिएसन कम्पनीसहित लगानीकर्ताको टोलीले सुर्खेतको मदानेचौर, वीरेन्द्रनगर र मुगुको राराको विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरेको मुख्यमन्त्री शाहीले बताए । चिनिया सरकारको स्वामित्व रहेको उक्त कम्पनीले हाल भैरहवा विमानस्थल निर्माण कार्य गरिरहेको छ ।
कर्णालीको पर्यटन विकासका लागि रारा क्षेत्रमा ठूला होटल तथा रिसोर्ट र विमानस्थल आवश्यक भएकोले लगानीकर्ताको टोलीलाई उक्त क्षेत्रमा लगानी गर्न आफूले आग्रह गरेको मुख्यमन्त्री शाहीले बताए ।
हाई अल्टिच्युट विमानस्थलका रुपमा रारामा विमानस्थल निर्माणका लागि लगानीकर्ताहरु सकारात्मक रहेको पनि मुख्यमन्त्री शाहीको भनाई छ । विकासका लागि समेत तिला १ र २, फुकोट हाईड्रोपावर लगायतका क्षेत्रमा अवलोकन गरिएको मुख्यमन्त्री शाहीले बताएका छन् ।
प्रकाशित समय : २३:०७ बजे


















