द्रुतमार्गको प्रगति सन्तोषजनक : विकास समिति
वि.सं.२०७५ पुस ७ शनिवार २१:५९
shares

राष्ट्रिय गौरवको आयोजना काठमाडौं – तराई/मधेस द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ । शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्पअन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो ।
समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वमा गएको टोलीमा पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल र माधवकुमार नेपाललगायत सांसद अनिलकुमार झा, इन्दुकुमारी शर्मा, गणेशकुमार पहाडी, दामोदर भण्डारी, देवप्रसाद तिमल्सेना सहभागी थिए । टोलीमा सेनाका आयोजना प्रमुख योगेन्द्रबहादुर खाण, उपरथी प्रभुराम शर्मा, समितिका सचिव वंशीराज पौडेल, विभिन्न मन्त्रालयका प्रतिनिधि, पत्रकारलगायत २५ जना सामेल थिए ।
काठमाडौँबाट निजगढसम्म हेलिकप्टरमा गएको टोलीले निजगढको जिरो किमीदेखि मोहोरीसम्म गाडीमा स्थलगत भ्रमण गरेको छ । त्यहाँ सेनाका मेजर राजेशकुमार देवले आयोजनाको कामबारे जानकारी दिए । सो क्याम्पअन्तर्गत १० किमी क्षेत्रमा कटिङ तथा फिलिङको काम भइरहेको उनले बताए । उनले कटिङ गरेपछि पहिरो जाने समस्याले केही अवरोध सिर्जना भइरहेको जनाए ।
स्थानीयवासी रविराज दंगालले द्रुतमार्ग बन्दा स्थानीय जनता खुसी रहेको तर ढिलासुस्ती होला कि भन्ने चासो रहेको बताए । उनले स्थानीयलाई रोजगारी र स्थानीय साधन स्रोत प्रयोगमा चासो राखे । नेपाली कांग्रेसका महासमिति सदस्य मीना लामाले सेनाले गरेको काम छिटो भएकाले सेनालाई नै दिएमा द्रुतमार्ग छिटो बन्ने बताइन् ।
सेनाको अर्को क्याम्प मकवानपुरको बकैया गाउँपालिका, राजदमारमा सेनाको निर्माण कार्यदल प्रमुख महासेनानी पुरुषोत्तम कार्कीले सो क्याम्पअन्तर्गत आठ किमीमा पुलबाहेक फिलिङको काम तहतहमा भइरहेको जानकारी दिए । कल्भर्टको काम पुस १५ सम्ममा सकिने र पुल भने अर्को वर्षदेखि सुरु हुने बताए । उनले कान्ति राजपथलाई बचाउन डब्लु डाँडामा सुरुङ प्रस्ताव गरिएको पनि जानकारी दिए ।
राजदमारका स्थानीयवासी रामकुमार थिङ र राजन दंगालले सो स्थानमा धरान-चतरा हुँदै मदन भण्डारी लोकमार्ग पनि जोडिने भएको र सरकारले इन्टरचेन्जका लागि जग्गा अधिग्रहण गरिसकेकाले इन्टरचेन्ज सोही स्थानमा बन्नुपर्ने बताए ।
रामेछापमा जन्मिएर ३८ वर्षदेखि सो स्थानमा बस्दै आएका ८० वर्षीय दण्डपाणी दाहालले यो बाटो आफ्नै पालामा बन्ने हो कि होइन भन्दै आशंका व्यक्त गरे । जवाफमा पूर्वप्रधानमन्त्री खनालले अब यो बाटो चाँडै बन्ने र केही वर्षमै तपाईं गाडी चढेर काठमाडौं पुग्न सक्नुहुने भन्दै आश्वस्त पारे ।
सेनाको अर्को क्याम्प मकवानपुरको बुदुनेमा त्यहाँका प्रमुख प्राविधिक सेनानी अरविन्द श्रेष्ठले २०७४ साउन १९ देखि सो क्याम्प स्थापना भई डिजाइनअनुरुप काम भइरहेको र त्यस क्षेत्रमा ११ वटा पुल बन्ने जानकारी दिए । उनले कटिङ र फिलिङमा जनशक्ति खटाइएको र यो आर्थिक वर्षभित्र सकिने बताउँदै सो काम ७९.१ प्रतिशत पूरा भइसकेको जनाए । उनले स्थानीयका माग र गुनासा सम्बन्धमा स्थानीयस्तरमै छलफलबाट समस्या सुल्झाइने गरेको र कुनै अवरोध नभएको पनि बताए ।
हेटौँडा उपमहानगरपालिका, एक्लेखेतका बाबुराम न्यौपानेले इन्टरचेन्ज (लिंक रोड जोडिने ठाउँ) अन्यत्र राख्ने चर्चा भइरहेको भन्दै हेटौँडाको सडक स्थानीय जनतालाई सुविधा हुने गरी गाउँको बीचबाटै ल्याई त्यहीँ इन्टरचेन्ज राखिनुपर्ने माग गरे ।
सेनाको अर्को क्याम्प रहेको मकवानपुरको लेनडाँडामा क्याम्प प्रमुख इन्जिनियर विनोद श्रेष्ठले सिवालिकको धेद्रेडाँडादेखि महादेवटारसम्म सबैभन्दा लामो ३.३ किमीसहित तीनवटा सुरुङ मार्ग प्रस्ताव गरिएको जानकारी दिए । उनले कान्ति राजपथ जोगाउन डब्लु डाँडामुनिबाट सुरुङ बनाइने बताए ।
शिवालिक र महाभारतको मिलन हुने मेन बाउण्डरी थ्रस्ट यहाँ पर्ने भएकाले सो कुरालाई ध्यानमा राखी सुरुङको डिजाइन गरिएको उनले जनाए । सुरुङ मार्गले केही खर्च बढे पनि पाँच मिनेट यात्रा समय घट्ने पनि उनको भनाइ छ ।
निर्माण कार्यदल, काठमाडौँको मख्खुबेँसीमा प्राविधिक सेनानी अजित श्रेष्ठले यहाँ निर्माण भइरहेको नौ किमीमा पाँच ठाउँमा अण्डरपास पर्ने, ११ ठाउँमा पुल बन्ने बताए । उनले कटिङको काम ७४ प्रतिशत सम्पन्न भइसकेको र दुई महिनामा कटिङ सम्पन्न हुने जानकारी गराए । यो खण्डमा एक किमीमात्र ललितपुर र बाँकी सबै काठमाडौंमा पर्ने उनले बताए । मख्खुबेँसी द्रुतमार्गमा पर्ने काठमाडौँ उपत्यकाको सबैभन्दा दक्षिणी बिन्दु हो ।
१० वटा क्याम्पमध्ये काठमाडौँतर्फबाट दोस्रो सो क्याम्पले २०७४ असारदेखि काम सुरु गरेको हो । यो क्षेत्रमा बागमतीमा ९० मिटर र १५० मिटरका लामा पुल बन्नेछन् । सो क्षेत्रमा २७२ रुख कटान गरी जिल्ला वन कार्यालयलाई बुझाइएको उनले जानकारी दिए ।
आयोजना प्रमुख उपरथी खाणले सेनाले सो सडक बनाउँदा नेपालकै श्रम सीप उपयोग गरेर कम खर्चमै निर्माण गर्न लागेको बताए । उनले द्रुतमार्गको कुल खर्च भने कोरियाली कम्पनीबाट विस्तृत परियोजना प्रतिवेदन आएपछि मात्र यकिन हुने र रेखांकन परिवर्तन गर्नुपर्ने भएमा मन्त्रिपरिषद्ले मात्र गर्नसक्ने बताए । उनका अनुसार द्रुतमार्गमा ६ किमी सुरुङ मार्ग बन्नेछ ।
उनले कटिङको काम ७०–८० प्रतिशत पूरा भइसकेको र अब तीन/चार महिनामा फिलिङको काम पनि सकिने बताए । उनले आयोजनामा सेनाका २१ वटा स्काभेटर प्रयोगमा ल्याइएको र सबै गरी १०० वटाभन्दा बढी स्काभेटरले काम गरिरहेको जानकारी दिए ।
नेपाली सेनाका योजना तथा डिजाइन महाशाखाका महासेनानी शरदलाल श्रेष्ठले हाल सेनाले द्रुतमार्गको एसियाली विकास बैंकको प्रतिवेदन, सरकारले अधिग्रहण गरेको जग्गा र एसियाली मापदण्डलाई आधार बनाएर कार्य गरिरहेको र विस्तृत परियोजना प्रतिवेदन आएपछि द्रुतमार्गको कामले गति लिने बताए ।
निरीक्षण भ्रमणको अन्त्यमा मख्खुबेँसीमा समिति सभापति खड्काले स्थलगत भ्रमणबाट द्रुतमार्ग निर्माणबारे राम्रो जानकारी भएको र सेनाले उत्साहका साथ काम गरेको पाइएको र आफू कामबाट प्रभावित भएको बताए । यही हिसाबले काम भएमा सेनाले तोकिएको अवधिमै द्रुतमार्गको काम पूरा गर्न सक्ने उनको विश्वास छ । (रासस)

























