प्रदेश-१ : कृषि मन्त्रालयद्वारा दुई अर्बको बजेट अख्तियारी
वि.सं.२०७५ पुस ११ बुधवार २०:०१
shares

प्रदेश-१ स्थित भूमि, कृषि तथा सहकारी मन्त्रालयले पहिलो चरणमा २ अर्बको बजेट अख्तियारी सहित कार्यक्रम सञ्चालन गरेको छ ।
मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत बद्री दाहालले मन्त्रालयको तल्ला तहको संरचना निर्माण भएसँगै पहिलो चरणमा करिब २ अर्ब रुपैयाँको बजेटको अख्तियारी सहित हाललाई २९ वटा कृषिमा आधारित कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिए ।
उक्त कार्यक्रम सञ्चालका लागि आवश्यक कार्यविधि स्वीकृत भई बजेट समेत निकासा भएको छ । मन्त्रालयका अनुशार कृषि सेवा निर्देशनालय र पशु सेवा निर्देशनालय अन्तरगतका निकायबाट ती कार्यक्रम सञ्चालन हुनेछन् ।
सरकारले अख्तियारी प्रदान गरेका कार्यक्रम कृषि निर्देशनालय मार्फतका कृषि ज्ञान केन्द्र र पशु सेवा निर्देशनालय मार्फतका पशु सेवा ज्ञान केन्द्र एवं भेटनरी अस्पतालमार्फत कार्यक्रम सञ्चालन हुनेछन् ।
मन्त्रालयले पहिलो चरणमा स्वीकृत गरेका कार्यक्रमहरुमा साना सिँचाईका कार्यक्रम, शित भण्डार निर्माण, चियाखेती प्रर्वद्धन, कृषि पर्यटन, ग्रिन हाउस निर्माण, अलौची, अदुवा प्रर्वद्धन कार्यक्रम समावेश गरिएका छन् । भूमि, कृषि तथा सहकारी मन्त्रालयलले प्रदेश स्तरमा कृषि सेवा निर्देशनालय, विभिन्न जिल्लामा ११ वटा कृषि ज्ञान केन्द्र स्थापना भईसकेको छ ।
त्यसैगरी सोही मन्त्रालय अन्तर्गत पशु सेवा निर्देशनालय र त्यस मातहत रहने गरी ८ वटा विज्ञ केन्द्र र भेटनरी अस्पताल स्थापना भएका छन् । प्रदेश सरकारले आवश्यक संरचनाको अभावमा चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिँदासम्म विकास खर्च गर्न सकेको थिएन ।

























