नेकपा हेडक्वाटरको निर्णय स्थायी कमिटी कार्यदलले उल्ट्याउदै
वि.सं.२०७५ पुस १७ मंगलवार ००:५३
shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले सङ्गठनात्मक एकताबारे गृहकार्य गर्ने गठन गरेको कार्यदलले काम गर्न सुरु गरेको छ । सोमबार बसेको पहिलो बैठकमा प्रदेश कमिटी गठनमा भएका त्रुटी सच्चाउने बारेमा छलफल भएको छ ।
प्रदेश कमिटीको नामावली हेरफेर गर्नेदेखि जिल्ला एकीकरण र केन्द्रीय सदस्यहरूको कार्यविभाजनसम्मको ठोस प्रस्ताव तयार पार्न सुरु गरेको छ । स्थायी कमिटी बैठकमा प्रदेश कमिटीको एकीकरणमा मापदण्ड पूर्ण रूपमा पालना नभएको, जिल्ला र जनसंगठनको एकीकरणमा ढिलाइ भएको भन्दै नेतृत्वको आलोचना भएपछि बैठकले पुस मसान्तभित्र एकीकरण सक्ने गरी प्रस्ताव तयार पार्न कार्यदललाई जिम्मा दिएको हो ।
कार्यदलको प्रस्ताव यस्तो हुनेछ
कार्यदललाई आउदो दश दिनभित्र एकीकरणको बाँकी कामको मापदण्ड र आधारसहित शीर्ष तहमा बुझाउने छ । अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई प्रतिवेदन बुझाएपछि एकीकरणको ठोस प्रस्ताव सचिवालय हुँदै पुस मसान्तभित्र स्थायी समितिबाट निर्णय गर्ने पार्टीको तयारी छ ।
कार्यदलले विषेशगरी ‘एक व्यक्ति एक पदको सिद्धान्त तय गर्ने स्थायी कमिटी सदस्य तथा कार्यदल सदस्य योगेश भट्टराईले बताए । ‘जिम्मेवारीको सन्दर्भमा स्पष्ट मापदण्ड बनाउने छौं, मापदण्डमा कसैले पनि दोहोरो जिम्मेवारी नपाउने विषय समेट्नेछौं’ उनले न्यूज कारोबारसँग भने ।
सबै भन्दा पहिले प्रदेश कमिटी सदस्य हेरफेरका बारेमा मापदण्ड बनाईने भट्टराईले बताए । ‘स्थायी कमिटी बैठकमा विगतका निर्णय पुनराबलोकन गर्ने, प्रादेशिक कमिटी गठन गर्दा कति छुटेका छन्, कति नआउनुपर्ने आएका छन्, कतिले अरु महत्वपूर्ण जिम्मेवारी लिँदा लिँदै प्रदेश कमिटिमा दोहोरो जीम्मेवारी पाएका छन् । त्यस विषयमा पुनराबलोकन गर्छौं,’ भट्टराईले भने ।
मुख्यमन्त्री नै चेपुवामा
कार्यदलले एक व्यक्ति, एक पदको शिद्धान्त तय गर्दा अहिले प्रदशे कमिटीमा रहेका ईन्चार्जहरुले नै पद छाड्नुपर्ने हुन्छ । गत असोजमा बरिष्ठ नेता माधब कुमार नेपाल विदेशमा रहँदा सचिवालय बैठकले प्रदेशका ईन्चार्ज, सह–ईन्चार्ज र सचिव तोके पनि नेपाल, नारायणकाजी श्रेष्ठलगायतले असन्तुष्ट जनाएका थिए ।
अहिले कार्यदले सोही कमिटीमा रहेका सदस्य हेरफेर बारेमा मापदण्ड बनाउने छ ।
‘एक व्यक्ति एक मुख्य पद’ रहने मापदण्ड बनाए गण्डकी प्रदेशको इञ्चार्ज रहेका मुखयमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश नं ५ का इञ्चार्जको जिम्मा पाएका अर्का मुख्यमन्त्री शङ्कर पोखरेलले दुई मध्ये एक पद छाड्नुपर्ने हुन्छ ।
‘एक व्यक्ति एक मुख्य जिम्मेवारी केन्द्रका अध्यक्षले पार्टी अध्यक्ष किन प्रधानमन्त्री भन्नुहुन्छ, केन्द्रका अध्यक्षहेक अरु सबैलाई यो सिद्धान्त लागु हुन्छ ,’ कार्यदल सदस्य भट्टराईले न्युज कारोबारसंग भने, ‘यो सिद्धान्तबाट जाँदा प्रदेश कमिटीमा रहेका केही नेताहरु मुख्यमन्त्री समेत छन् । उहाँहरुले पार्टी ईन्चार्ज वा मुख्यमन्त्री एक पद छाड्नुपर्ने हुन्छ ।’
प्रदेश-१ का इञ्चार्ज भीम आचार्य, प्रदेश नं २ का इञ्चार्ज सत्यनारायण मण्डल प्रदेश नं ३ का इञ्चार्ज अष्टलक्ष्मी शाक्य कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा र प्रदेश नं ७ का इन्चार्ज रहेका भीमबहादुर रावलको पद भने यथाबत रहने छ ।
जिल्ला इन्चार्ज, सहइन्चार्ज र पदाधिकारीको प्रस्ताव
कुन जिल्लामा कसलाई इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव बनाउनेसम्मको निश्चित मापदण्डका आधारमा प्रस्ताव तयार पार्नेसम्मको जिम्मेवारी कार्यदललाई तोकिएको छ ।
तत्कालीन एमाले र माओवादी दुवैतर्फको सन्तुलन मिल्ने गरी कार्यदलले प्रस्ताव बनाउनेछ । त्यस्तै, जनवर्गीय संगठनहरूको एकीकरण, पोलिटब्युरो गठनका सन्दर्भमा समेत सुझाब दिन सक्ने अधिकार कार्यदललाई दिइएको छ ।
‘पोलिटब्युरो गठन गरेर मात्रै कायविभाजन गर्ने कि नगर्नेसम्बन्धी सुझाब पनि कार्यदलले दिन सक्नेछ,’ कार्यदलका अर्का सदस्य बेदुराम भुसालले भने ।
कार्यदल प्रदेशपछि जिल्लामा जाने
कार्यदलले प्रदेश कमिटी पुनरावलोक गरेपछि जिल्ला कमिटी, जनवर्गीय कमिटीको एककीरणको मापदण्ड बनाउँने छ । मापदण्ड आउदो हप्ता दश दिनभित्र पार्टी नेतृत्वलाई बुझाउने कार्यदलका सदस्यहरुले बताएका छन् ।
त्यसपछि स्थायी कमिटी बैठकले निर्णय गर्ने जनाईएको छ । कार्यदलका अर्का सदस्य लेखराज भट्ट भन्छन्, ‘पौष मसान्तभित्र देशभरका पार्टी र जनसंगठनहरुको एकता पुरा गर्छौं र माघ महिनामा त्यसका बैठक भेलाहरु गर्ने तय गर्छौं । माघको दोस्रो साता केन्द्रीय कमिटी बैठक आयोजना गरेर फागुन र चैत दुई महिना देशव्यापी पार्टी अभियानमा जान्छौं ।’
कार्यदलमा तीन समूहको ९ जनाको प्रतिनिधित्व
९ सदस्यीय कार्यदलमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ गरी ९ जना सदस्य छन् । यीमध्ये पौडेल, पोखरेल र महासेठ अध्यक्ष ओलीनिकट हुन् ।
थापा र भट्टले पूर्वमाओवादी समूह तर्फबाट छन् । यस्तै भट्टराई, भुसाल र पाण्डे वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन् । कार्यदलले लिने निर्णयले नेकपाभित्र हाल देखिएको विवाद साम्य हुने अनुमान छ ।

























