चीनको कोइला खानीमा दुर्घटना, २१ जनाको मृत्यु
वि.सं.२०७५ पुस २९ आइतवार २१:१४
shares

चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइलाखानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ ।
अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार जमिनमुनि ८७ जना कामदार कार्यरत रहेका बेला शनिबार दिउँसो उक्त दुर्घटना भएको थियो । दुर्घटनालगत्तै पुरिएकाको उद्धार थालिएको थियो । खानीमा हराएका दुई जनालाई आइतबार बिहान मृत अवस्थामा भेटिएको छ ।
अन्य ६६ जनालाई भने कोइलाखानीबाट सकुशल उद्धार गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । निजी कम्पनी बाइजी माइनिङद्वारा सञ्चालित खानीमा भएको उक्त दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।
पर्याप्त सुरक्षा व्यवस्थाको अभावमा चीनका कोइलाखानीमा यस्ता दुर्घटना भइरहने गरेका छन् । ठूला सरकारी उद्योगको तुलनामा निजी क्षेत्रबाट सञ्चालित कोइला उद्योगमा सुरक्षा व्यवस्था कमजोर रहने गरेको छ । गत वर्ष डिसेम्बरमा पनि चीनको दक्षिण पश्चिममा भएको कोइला खानी दुर्घटनामा सात जना कामदारको मृत्यु र अन्य तीन जना गम्भीर घाइते भएका थिए ।
चीनको राष्ट्रिय कोइला खानी सुरक्षा प्रशासनका अनुसार सन् २०१७ मा कोइला खानीमा कार्यरत ३ सय ७५ जनाको मृत्यु भएको थियो ।

























