मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ
वि.सं.२०८३ मंसिर ६ आइतवार ११:२९
shares

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार बिहान प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले उनलाई शपथ ग्रहण गराएका हुन्।
प्रदेश प्रमुख कर्णले शनिबार प्रदेशसभामा ठुलो दल जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
यसअघि उनले गत २८ कात्तिकमा संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । तर, समयसीमा शुक्रबार अपराह्न ४ बजेसम्म पनि दाबी नपरेपछि कर्णले शनिबार जसपा दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरे ।
अब यादवले एक महिनाभित्र संसद्मा बहुमत सिद्ध गर्नुपर्ने हुन्छ । बहुमत सिद्ध नगरे संसद् विघटन हुनेछ । त्यसकै फाइदा लिन जसपाले अघिल्लो कांग्रेस सरकारलाई ढालेको हो । एमाले र नेकपाले जसपालाई समर्थन गर्ने बुझिएको छ ।

























