काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विराटनगरका हाटबजार व्यवस्थापनमा महानगर असफल !

15.37K
shares

सडकमा लाग्ने साप्ताहिक हाटबजारलाई हटाई तिनलाई ब्यवस्थित बनाउने योजना ल्याएको विराटनगर महानगरपालिका यसको कार्यन्वयनमा असफल बनेको छ । सडकमा लागेका हाटबजारले दुर्घटना बढेको, अत्यावश्यक सवारी आवगमनमा समस्या आएको तथा हटियाबाट निस्केको फोहोरले दुर्गन्ध फैलिएको गुनासो आएपछि महानगरले गत असारमा चालु आर्थिक वर्षको साउनसम्ममा सडकमा लाग्ने हाटबजार हटाउने निर्णय गरेको थियो ।

तर, निणर्य गरेको ६ महिना बितिसक्दा पनि महानगर भित्रका दुई वटा हटियामात्र सडकबाट बाहिर लग्न सकेको छ । विराटनगर महानगरभित्र गुद्री बजारसहित १८ स्थानमा हाटबजार लाग्दै आइरहेका छन् । जसबाट महानगरले वार्षिक १२ लाख राजस्व असुली गर्ने गरेको छ ।

matket_on_road5_newskarobar

सडकमा हाटबजार लगाउँदा विभिन्न समस्या उत्पन्न भएपछि महानगरले सडकभन्दा बाहिर खाली जग्गाको व्यवस्थापन गरी खाली जग्गामा हाटबजार लगाउने योजना बनाएको थियो । तर लामो समय बित्दा पनि हटिया ब्यबस्थापन नहुनुले महानगरको योजना नै विफल भएको आशंका उब्जिन थालेको छ ।

हाटबजार हटाउने कुरा गरिरहँदा महानगरको कार्यालय अगाडि नै लाग्ने ठूलो हटिया अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन । तर महानगर प्रमुख भीम पराजुली भने साउनसम्ममा हटाउने नभई साउनबाट व्यवस्थापन थाल्ने महानगरको योजना रहेको बताउँदै आवश्यक व्यवस्थापनको काम भइरहेको बताउँछन् ।

bhim parajuli
भीम पराजुली

हाटबजार सडकबाट हटाउने नभई व्यवस्थापन गर्ने योजना रहेको उनको भनाइ छ । ‘हामीले साउन १ गतेदेखि सुरु गर्ने भनेको होइन, साउनदेखि व्यवस्थापन गर्ने भनेको हो, धेरै वडाहरुमा त्यसको व्यवस्थापन पनि गरिसकेका छौं,’ प्रमुख पराजुलीले न्युज कारोबारसँग भने, ‘केही वडामा स्थानको अभावमा व्यवस्थापन गर्न बाँकिछ । हिँजो सडकमै हटिया लाग्ने गरेको थियो भने अहिले केही सारेर व्यवस्थापन गरेको अवस्था छ । खाली ठाउँमा हटिया व्यवस्थापन गर्ने हो हटाउने कुरा हैन ।’

हाटबजार व्यवस्थापनका लागि आवश्यक जग्गाको प्रबन्ध मिलाउने र समन्वय गर्ने काम वडाध्यक्षहरुलाई जिम्मा दिइएको छ । तर, वडाध्यक्षहरुले यसका लागि पहल गरेको देखिँदैन । सडक नालाको निर्माण कार्यले गर्दा व्यवस्थापनमा समस्या आएको विराटनगर महानगर वडा नं. ५ का अध्यक्ष मीनकुमार आर्चाय बताउँछन् ।

min aachrya
मीनकुमार आर्चाय

‘अन्य वडाहरुमा चाँही भएको छ जस्तो लाग्छ यो वडाको सन्दर्भमा चाँही निर्णय भएर कार्यान्वयन नभएको जस्तो देखिएको छ,’ आचार्यले भने, ‘यहाँ अहिले सडक तथा नाला निर्माणका कारण व्यवस्थापनमा समस्या आइरहेको छ । निर्माण कार्य सकिना साथ हामी त्यो काम गर्छौं ।’

हाटबजारमा व्यापार गर्ने स्थानीय व्यापारी पनि हाट व्यवस्थित गर्नेबारे जानकारी नगराएको बताउँछन् । महानगरले सडकको हाटबजार हटाउने योजना ल्याएर आफूहरुको कमाई खाने बाटो बन्द गर्न खोजेको उनीहरुको गुनासो छ ।

विराटनगरका विभिन्न हाटमा तरकारी व्यापार गर्दै आएका लक्ष्मण सोनीले हटिया व्यवस्थापन गर्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँछन् । ‘हामीले धरै वर्षदेखि यही सडकमै लाग्ने हटियामा तरकारी बेचेर गुजारा गर्दै आएका छौं,’ सोनी भन्छन्, ‘हटिया हटाइए हाम्रो विजोग हुन्छ । हामीलाई व्यपार गर्न महानगरले ठाउँ दिनु पर्यो ।’

त्यस्तै अर्का व्यपारी सन्तोष साहले आफूहरुको अन्य कुनै रोजगार नरहेकाले हटिया हटाइए बेरोजगार बन्ने बताए । ‘हम्रो अरु केही रोजगार छैन । रोजगार भनेकै यही पसल हो, यसैले आफ्नो र परिवारको पेट पाल्नु परिरहेको छ,’ साहले भने, ‘अब हटिया हट्यो भने हाम्रो हालत के हुन्छ ? त्यो महानगरपालिका र भिम पराजुली सरले बुझिदिनुपर्छ ।’

(तस्बिरहरूः विराटनगरस्थित सडकमै अव्यवस्थित रूपमा लागेका हाटबजार/न्युज कारोबार)