व्यासको ऐतिहासिक तथा पुरातात्विक सम्पदा चिनाउन ग्रामीण पर्यटन मेला
वि.सं.२०८३ मंसिर ६ आइतवार ०५:१९
shares

कास्की। महर्षि वेदव्यास र पराशर ऋषिको तपोभूमिका रूपमा परिचित तनहुँको व्यास नगरपालिकामा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण र ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘व्यास नगर पुरातात्विक सम्पदा एवं ग्रामीण पर्यटन मेला–२०८३’ आयोजना हुने भएको छ ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी मङ्सिर २५ देखि २७ गतेसम्म व्यास नगरपालिका–३ स्थित दमौली सभाहल, बिपी वनबाटिकामा मेला सञ्चालन हुने शनिबार पोखराको पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
वेद, पुराण र महाभारतका रचयिता महर्षि वेदव्यासको जन्मभूमिका रूपमा धार्मिक तथा सांस्कृतिक पहिचान बनाएको दमौली क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण, प्रचारप्रसार र पर्यटनसँग जोड्ने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको हो ।
‘सांस्कृतिक सहर, व्यास नगर’ मूल नारासहित आयोजना हुने मेलाले नगरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण र विकास गर्दै व्यास नगरलाई सुन्दर, शान्त र सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको कार्यक्रम संयोजक हरिसिंह गुरुङले जानकारी दिए ।
सेती र मादी नदीको सङ्गस्थलमा अवस्थित व्यास नगरपालिका महर्षि वेदव्यास र पराशर ऋषिको तपोभूमिका रूपमा परिचित छ । धार्मिक मान्यताअनुसार यही क्षेत्रमा महर्षि वेदव्यासको जन्म भएको र उनले वेदलाई चार भागमा विभाजन गर्नुका साथै महाभारत तथा अठार पुराणको रचना गरेको विश्वास गरिन्छ ।
दमौलीस्थित व्यास गुफा, पराशर गुफा तथा आश्रम यस क्षेत्रका प्रमुख धार्मिक एवं ऐतिहासिक सम्पदा हुन् । छाब्दी बाराही, तनहुँसुर दरबार, मानहुँकोट, गलेखामकोटलगायतका स्थलले पनि नगरको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वलाई उजागर गरेका छन् ।
प्रतिष्ठानले यसअघि २०७९ सालमा व्यास नगर बहुजातीय सांस्कृतिक महोत्सव र २०८२ सालमा व्यास नगर साहित्यिक महोत्सव आयोजना गरेको थियो । यस वर्ष भने पुरातात्विक सम्पदाको पहिचान, संरक्षण र ग्रामीण पर्यटनलाई प्राथमिकतामा राखेर मेला आयोजना गर्न लागिएको संयोजक गुरुङले बताए ।
“मेलामा पुरातात्विक सम्पदा संरक्षणसम्बन्धी स्थानीय तथा राष्ट्रिय महत्वका सम्पदाको तस्बिर प्रदर्शनी गरिनेछ । विद्यालय तथा कलेजका विद्यार्थीलाई लक्षित गरी पुरातात्विक सम्पदा र ललितकलासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्नेछौँ भने परिसरमा जीवित मूर्ति तथा चित्रकला केन्द्रसमेत रहने छ”, संयोजक गुरुङले भन्े ।
मेलाका अवसरमा व्यास नगरभित्र रहेका एक सय वर्षभन्दा पुराना सांस्कृतिक सम्पदालाई समेटेर ‘व्यास नगर सम्पदा’ पुस्तक प्रकाशन गरिनेछ । त्यस्तै, व्यास–पराशर क्षेत्र, छाब्दी बाराही र तनहुँसुरको डिजिटल माध्यमबाट प्रचारप्रसार गरिनेछ । क्युआर कोडमार्फत नेपाली, गुरुङ, अङ्ग्रेजी र हिन्दी भाषामा सम्पदासम्बन्धी जानकारी उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । व्यास–पराशर क्षेत्रका लागि संस्कृत भाषामा समेत प्रचारप्रसार सामग्री निर्माण गरिने प्रतिष्ठानले जनाएको छ ।
ग्रामीण पर्यटनको विकास तथा मौलिक संस्कृतिको संरक्षणका लागि मेलामा नगरभित्रका सामुदायिक होमस्टे तथा विभिन्न जातीय र सांस्कृतिक संस्थाका मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् । होमस्टे व्यवस्थापन समितिमार्फत स्थानीय रैथाने बाली, परम्परागत खानाका परिकार, फलफूल, तरकारी तथा घरेलु उत्पादन बिक्रीका लागि स्टल राखिनेछन् ।

























