गृहपृष्ठ आमा (कविता)
आमा (कविता)
आमा हुन् सर्व उत्कृष्ट आमा दिव्य स्वरुप हुन्
विवेक शक्ति हुन् आमा, आमा देव समान हुन् ।
आमा हुन् ज्ञानकी ज्योति, आमा हुन् काव्य मञ्जरी
श्रद्धाकी मूर्ति हुन् आमा, आमा हुन् स्नेह निर्झरी ।।१।।
ममताकी प्रतिमूर्ति आमा प्रेम उमार्दिछिन्
आमा सन्तानका साझा इतिहास बनाउँछिन् ।
मैन झैं पग्लँदै आमा उज्यालो ज्योति छर्दछिन्
तिलस्मी हातले दिव्य सबैको आँत भर्दछिन् ।।२।।
खोपेर छातीमा चित्र आमालाई सजाउँछु
आमा हुन् देशकी मेरी सबैलाई चिनाउँछु ।
आमाको त्याग सम्झेर श्रद्धा भाव बढाउँछु
पुष्पगुच्छा टिपी नित्य आमालाई चढाउँछु ।।३।।
धरा हुन् धरणी आमा, चेतना पुञ्ज हौ तिमी
श्रृष्टिको रचना चक्र आस्थाकी कुञ्ज हौ तिमी ।
आकाश धर्ति हुन् आमा, आमा हुन् मातृ वत्सल
म देख्छु जूनमा हर्दम आमाकै रुप झल्मल ।।४।।
(ऋषभदेव घिमिरे, गोदावरी, ललितपुर)
प्रकाशित समय : १७:५५ बजे




















