बार्सिलोना लिगको अन्तिम खेलमा एइबारसँग बराबरीमा रोकियो
वि.सं.२०७६ जेठ ६ सोमवार १३:३४
shares

स्पेनिस ला लिगामा सिजनको अन्तिम खेलमा बार्सिलोनालाई एइबारले बराबरीमा रोकेको छ ।
एइबारको घरेलु मैदानमा भएको खेलमा लिग च्याम्पियन बार्साका कप्तान लिओनेल मेसीले २ गोल गरेपनि खेल २–२ गोलको बराबरीमा टुंगिएको हो । खेलको २० औं मिनेटमै मार्क कुकुरेल्लाको गोलबाट एइबारले अग्रता लिएको थियो । तर मेसीले दुई मिनेटको अन्तरमै दुई गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । मेसीले ३१औं र त्यसको एक मिनेटमा नै राकीटिचको पासमा दोस्रो गोल गरे ।
पहिलो हाफको अन्तिम मिनेटमा पाब्लो डे ब्लासिसले गोल गरेपछि एइबार खेलमा फर्कियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकियो ।नतिजासँगै मेसी लिगको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले लिगका ३४ खेलमा ३६ गोल गरे । युरोपेली गोल्डेन बुटमा पनि किलियन एमबाप्पेसँग ४ गोलको अग्रता बनाएका छन् । उनले जारि सिजन सबै प्रतियोगितामा ५० गोल पनि पूरा गरे ।
बार्सिलोनाले ८७ अंक जोड्दै लिगको अन्त्य गर्यो । दोस्रो स्थानको एटलेटिको ११ अंक पछि रह्यो भने रियल म्याड्रिड १९ अंक पछाडी रह्यो ।

























