पाकिस्तानमाथि इंग्ल्यान्डको क्लिन स्वीप
वि.सं.२०७६ जेठ ६ सोमवार १३:४५
shares

पाकिस्तानसँगको पाँच खेलको ओडीआई सिरिज घरेलु टोली इंग्ल्यान्डले क्लिन स्वीप गरेको छ ।
आईतबार राति सम्पन्न पाँचौ खेलमा ५४ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिजमा कब्जा जमाएको हो । ३ सय ५२ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४६.५ ओभरमा अल आउट हुँदै २ सय ९७ रनमा समेटियो ।
पाकिस्तानका कप्तान सरफराज अहमिदले ९७ रनको योगदान दिएपनि हार टार्न भने सकेनन् । मिडिल अडरका बाबर आजमले ८० रन बनाए । ओपनर फकार जमान डक आउट भए । अबिद अली ५, मोहम्मद हफिज डक र सोएव मालिक ४ रनमा पेभेलिएन फर्किए । आशिफ अली २२, ईमाद वासिम २५, हसन अली ११, साहिन शाह अफ्रिदी १९ र मोहम्मद हुसैनले २८ रनको योगदान गरे ।
इंग्ल्यान्डका लागि क्रिस वोक्सले १० ओभरमा ५ विकेट लिए । आदिल राशिदले २ र डेविड विल्लीले १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको थियो । इंग्ल्यान्डका लागि कप्तान ओइन मोर्गनले ७६ रनको उत्कृष्ट योगदान गरे । जो रुटले ८४ रन बटुले । जेम्स भिन्स ३३, जोनी बेयरस्टो ३२, जस बटलर ३४, बेन स्टोक्स २१, क्रिस वोक्स १३ र डेविड विल्ली १४ रन जोड्दै आउट भए ।
टम कुरन २९ रनमा अविजित रहे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले १० ओभरमा ४ विकेट लिए । ईमाद वासिमले ३ विकेट हात लिए भने मोहम्मद हुसैन र हसन अलीको नाममा १–१ विकेट रह्यो ।

























