काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

637
shares

काठमाडौँ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटपाट गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने २९ वर्षीय सुनिल सुनार रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुनारले आफ्नै घर अगाडि उभिरहेकी वृद्ध महिलाको घाँटीमा लगाएको सुनको तिलहरी लुटेर फरार भएका थिए । प्रहरीका अनुसार करिब चार आना तौलको उक्त तिलहरीको मूल्य ७५ हजार रुपैयाँ रहेको छ ।

घटनापछि खोजतलासमा खटिएको प्रहरी वृत्त बौद्धको टोलीले सुनारलाई लुटिएको तिलहरीसहित फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । पक्राउ परेका सुनारविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट आज सात दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।