global ime bank Long Banner Ad

गृहपृष्ठ अभियानमार्फत सेवा विस्तारमा धनगढी, स्वास्थ्यदेखि सरसफाइसम्म दीर्घकालीन कार्यक्रमलाई निरन्तरता

अभियानमार्फत सेवा विस्तारमा धनगढी, स्वास्थ्यदेखि सरसफाइसम्म दीर्घकालीन कार्यक्रमलाई निरन्तरता

अभियानमार्फत सेवा विस्तारमा धनगढी, स्वास्थ्यदेखि सरसफाइसम्म दीर्घकालीन कार्यक्रमलाई निरन्तरता

धनगढी । हरेक वर्ष नयाँ कार्यक्रम घोषणा गर्नेभन्दा प्रभावकारी कार्यक्रमलाई अभियानकै रूपमा निरन्तर सञ्चालन गर्ने नीति धनगढी उपमहानगरपालिकाले लिएको छ। स्वास्थ्य, सरसफाइ, पर्यटन, सामाजिक सुरक्षा र स्वरोजगारका कार्यक्रमलाई नागरिक सहभागितासँग जोडेर दीर्घकालीन रूपमा अघि बढाउने रणनीति उपमहानगरले अवलम्बन गरेको हो।

१५औँ नगरसभाबाट पारित दुई अर्ब ६४ करोड ६४ लाख रुपैयाँभन्दा बढीको बजेटमार्फत ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’, ‘हाम्रो धनगढी, सफा धनगढी’, ‘उज्यालो धनगढी’, ‘सन्ध्याकालीन बजार’, ‘महिला उद्यम बजार’ र ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ लगायत कार्यक्रमलाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टले बताए।

उपमहानगरको प्राथमिकतामा रहेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रममार्फत १९ वटै वडामा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ। स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०७९/८० देखि सञ्चालनमा रहेको उक्त कार्यक्रमबाट हालसम्म एक लाख ७२ हजार ४२७ जनाले सेवा लिएका छन्। तीमध्ये ३० हजारभन्दा बढी ७० वर्षमाथिका ज्येष्ठ नागरिक छन्।

उक्त अवधिमा ५९ हजार ८०६ जनाले प्रयोगशाला सेवा, १४ हजार ११७ जनाले इसिजी, आठ हजार ६९१ जनाले भिडियो एक्स–रे तथा २२ हजार ३९३ जनाले गर्भवतीसम्बन्धी सेवा लिएका छन्। उपमहानगरले सरकारले उपलब्ध गराउने औषधिबाहेक थप १९ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको जनाएको छ।

सरसफाइलाई पनि उपमहानगरले अभियानकै रूपमा अघि बढाएको छ। ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानअन्तर्गत चार सयभन्दा बढी सरसफाइ समिति परिचालन गरिएका छन्। फोहोर व्यवस्थापनलाई पुनःप्रयोग र आम्दानीसँग जोड्ने प्रयासस्वरूप सूक्ष्म फोहोर वर्गीकरण केन्द्रबाट आर्थिक वर्ष २०८०/८१ मा २५ लाख, २०८१/८२ मा ४२ लाख र २०८२/८३ मा करिब ७२ लाख रुपैयाँ आम्दानी भएको उपमहानगरले जनाएको छ। हाल दैनिक सङ्कलन हुने करिब ४३ टन फोहोरमध्ये झन्डै ७० प्रतिशत पुनःप्रयोग हुने गरी व्यवस्थापन भइरहेको छ।

‘उज्यालो धनगढी’ अभियानअन्तर्गत प्रदेश सरकार र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा मुख्य सडक, वडा केन्द्र र सार्वजनिक स्थानमा ५७ वटा हाइमास्ट बत्ती जडान गरिएको छ। छ लेन सडकमा स्वचालित सडकबत्ती सञ्चालनमा ल्याइएको छ भने हुलाकी तथा भित्री सडकमा एक हजार नौ सयभन्दा बढी सडकबत्ती जडान भइसकेका छन्।

रोजगारी र उद्यमशीलता प्रवर्द्धनका लागि सीप विकास, रोजगार मेला, महिला उद्यम बजार तथा धनगढी भोकेसनल स्कूलमार्फत दक्ष जनशक्ति उत्पादन र बजारसँग जोड्ने कार्यक्रम सञ्चालन भइरहेको उपमहानगरले जनाएको छ।

सामाजिक सुरक्षाअन्तर्गत ‘मुक्तिनाथ दर्शन’ कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई तीर्थयात्रा, ‘आमा बचाऔँ’ अभियानमार्फत गर्भवती तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा, निःशुल्क एम्बुलेन्स सेवा तथा आवश्यक परेका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको छ। लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि सामुदायिक र संस्थागत विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै फूलबारीमा ‘आसरा सुधार केन्द्र’ स्थापना गरिएको छ।

पर्यटन प्रवर्द्धनका लागि ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियान सञ्चालन गरिएको छ। यसमार्फत प्रदेशका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै स्थानीय अर्थतन्त्र, हरित विकास र वातावरण संरक्षणलाई एकीकृत रूपमा अघि बढाउने नीति उपमहानगरले लिएको जनाएको छ।

प्रकाशित समय : ०६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु