गृहपृष्ठ आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले सोमबार पनि अधिकांश क्षेत्रमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा उत्तरतर्फ, नेपालको तराई आसपास रहेकाले वर्षाको गतिविधि व्यापक हुने अनुमान गरिएको छ।
महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका धेरै स्थान र कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराईका धेरै स्थानसँगै मधेशका केही क्षेत्रमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका थोरै स्थान र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
राति पनि मौसममा खासै सुधार नआउने विभागको अनुमान छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। मधेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा राति पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
विभागले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, साथै लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलामा आकस्मिक बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्ने चेतावनी दिएको छ।
महाशाखाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न तथा सडक, हवाई यातायात, कृषि, पर्यटन र पर्वतारोहण क्षेत्रमा सम्भावित असरलाई ध्यानमा राख्दै विभागका पछिल्ला मौसम सूचनाको नियमित जानकारी लिन आग्रह गरेको छ।
प्रकाशित समय : ०६:३० बजे



















