भोटेकोशी बाढीको ११ प्रतिशत मात्रै दाबी फर्छ्यौट, बीमा दाबी २० अर्ब नाघ्यो
वि.सं.२०८३ मंसिर ११ शुक्रवार ०८:१२
shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण हिमनदी बाढीबाट भएको क्षतिको बीमा दाबी रकम २० अर्ब ३३ करोड रुपैयाँ नाघेको छ। नेपाल बीमक संघले मंसिर ३ गतेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै कुल २० अर्ब ३३ करोड १५ लाख रुपैयाँ बराबरको दाबी परेको जनाएको हो।
निर्जीवन बीमा कम्पनीहरूमा कुल २ हजार ५५६ वटा दाबी दर्ता भएका छन्। तीमध्ये २७६ वटा अर्थात् १०.७९ प्रतिशत मात्रै फर्छ्यौट भएका छन्। अझै २ हजार २४१ वटा दाबी फर्छ्यौट हुन बाँकी छन्। हालसम्म अग्रिम तथा अन्तिम भुक्तानीसमेत गरी बीमितलाई ८५ करोड ९८ लाख रुपैयाँ प्रदान गरिएको छ भने भुक्तानी हुन बाँकी दाबी रकम १२ अर्ब २० करोड ८३ लाख रुपैयाँ रहेको छ।
सरकारले बाढी प्रभावितको बीमा दाबी छिटो फर्छ्यौट गर्न निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिए पनि आवश्यक कागजात, स्थलगत निरीक्षण प्रतिवेदन तथा क्षति मूल्यांकन प्रक्रिया पूरा हुन नसक्दा भुक्तानीमा ढिलाइ भएको छ। जलविद्युत् आयोजनाका संरचनाको क्षति मूल्यांकनमा विदेशी पुनर्बीमकका मूल्यांकनकर्ता समेत सहभागी हुनुपर्ने भएकाले प्रक्रिया थप जटिल बनेको बीमकहरूले जनाएका छन्।
बीमक संघको विवरणअनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमातर्फ परेको छ। यस शीर्षकमा ५५२ दाबीबाट करिब ९ अर्ब ४० करोड रुपैयाँ दाबी गरिएको छ। इन्जिनियरिङतर्फ करिब ३ अर्ब ८३ करोड, मोटरतर्फ ३ अर्ब १० करोड र सामुद्रिक बीमातर्फ २ अर्ब ४० करोड रुपैयाँ बराबरको दाबी परेको छ।
कम्पनीगत रूपमा सबैभन्दा बढी दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ। कम्पनीमा २२४ दाबीबाट ६ अर्ब ७२ करोड ३४ लाख रुपैयाँभन्दा बढी दाबी परेको छ, तर हालसम्म कुनै दाबी फर्छ्यौट भएको छैन। सानिमा जीआईसी इन्स्योरेन्समा २४५ दाबीबाट ३ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी दाबी परेकोमा ५३ वटा फर्छ्यौट भएका छन्।
शिखर इन्स्योरेन्समा ४७१ दाबीबाट २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी दाबी परेको छ। कम्पनीले १२१ दाबी फर्छ्यौट गरी ३७ करोड ८३ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ। सलिको इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पनि क्रमशः करिब १ अर्ब ५८ करोड, १ अर्ब २६ करोड र १ अर्ब २६ करोड रुपैयाँ बराबरको दाबी परेको छ।
त्यस्तै, नेपाल इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल, एनएलजी, प्रभु, द ओरिएन्टल, राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्समा पनि बाढीबाट भएको क्षतिको दाबी परेको छ।
युनाइटेड अजोड इन्स्योरेन्समा भने ३७ वटा दाबी फिर्ता भएका छन्। फिर्ता भएका दाबी रकम हटाउँदा कम्पनीमा ८३ करोड ९६ लाख रुपैयाँ बराबरको दाबी कायम रहेको छ। कम्पनीमा ७२ वटा दाबी भुक्तानी हुन बाँकी छन्।

























