गृहपृष्ठ सहकारीको मनपरी बन्द गर

सहकारीको मनपरी बन्द गर

सहकारीको मनपरी बन्द गर

पहिले नेपाल सरकारलाई एउटा प्रश्न-नेपालका सहकारीहरु ऐन, नियम र कानुनभन्दा बाहिर गएर सञ्चालन भइरहेपछि सहकारीको जालमा आममानिस फँसेकोबारे जानकारी छ कि छैन ?

सहकारीको बदमासी यसपटकमात्र उजागर भएको होइन । निक्षेपकर्ता आममानिसलाई पटक पटक चकमा दिँदै सहकारीले ठगीदेखि ठगीसम्मको श्रृंखला चलाउँदै आएका छन् । सहकारीको विश्वव्यापी सिद्धान्त र उद्देश्यविपरीत मनोमानी गर्ने आँट सहकारीले कसरी प्राप्त गरे ? कसबाट प्राप्त गरे ? सहकारी विभागले देशभर रहेका ३० हजार सहकारीलाई निगरानीमा राख्न किन सकेन ? विभागले ‘सबै सहकारीको नियमन गर्न हामी असमर्थ छौँ’ भन्ने लाचारीको जरो कारक को हुन् ? अब जवाफ खोज्नैपर्छ । हेक्का रहोस्, समयले आफ्नो समयअनुसार पर्खिन्छ । समय बितेपछि समयले समयलाई पनि पर्खिदैन ।

सहकारी ऐन कार्यान्वयन नगर्ने सहकारीमाथि कानुनको डण्डा चलाउनुबाहेक अर्को विकल्प खोज्नु भनेको उनीहरुलाई असनको साँढेजस्तो मैमक्त बनाउनु हो । किनकी, स्वयं सहकारी विभागका अधिकारीहरुले नै स्वीकारेको कुरा हो कि ‘सहकारी ऐनका प्रावधान कार्यान्वयन गर्ने हो भने कारबाहीबाट अधिकांश सहकारी दण्डको भागिदार हुनेछन् ।’

हो, यदि सहकारी ऐन, २०७४ कार्यान्वयन गर्न कुनै कठिनाई भए छलफलबाट समस्या समाधान गर्न सकिने ठाउँ नहुने होइन । ऐनमा कुनै व्यावहारिक कठिनाइहरु छन् भने त्यसमाथि बहस गर्न सकिन्छ । तर मुख्य प्रश्न के हो भने वित्तीय कारोबार गर्ने सहकारीले नै वित्तीय अनुशासन पालना गर्न गम्भिर नहुँदा मुलुक र जनताकै वित्तीय स्वास्थ्यमा गडबडी त हुन्छ नै । राजनीतिक संरक्षणको आडमा टोले गुण्डादेखि टपरटुइयाँहरुले समेत सहकारी सञ्चालन गरेर आम वचतकर्ताको निक्षेपमाथि मस्ती गर्ने जुन परिपाटी अहिले चलिरहेको छ, त्यसको पछाडिको कारण भनेको फितलो नियमन नै हो ।

राजनीतिक नेतृत्वलाई आग्रह- आममानिसले आफ्नो गाँस कटाएर जसोतसो जम्मा गरेको निक्षेपमाथि गिद्घेदृष्टि लगाउन छाडोस् । जुन दिन राजनीतिक नेतृत्व र उनका हुल्लडबाज आसेपासेहरुलाई ‘लोभानी-पापानी’ गर्न छाड्छन्, त्यस दिन नेपाली सहकारीको आकाशमा लागेको कालो बादल हटनेछ ।

यदि सहकारीले आफ्नो वित्तीय कारोबारमा पारदर्शिता देखाउन उदासीन हुने र उद्देश्य अनुसारको काम नगर्ने हो भने नेपालका सहकारी र गाउँ-सहरका ‘मिटर ब्याजी’हरुलाई एउटै तराजुमा राख्नुपर्ने हुन्छ ।

प्रकाशित समय : १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु