गृहपृष्ठ ९५औं ओस्कारका लागि आवेदन खुला
९५औं ओस्कारका लागि आवेदन खुला
प्रतिष्ठित फिल्म अवार्ड ओस्कार (एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्स)को ९५औं संस्करणका लागि आवेदन खुलेको छ । ओस्कारको नेपाल कमिटीले नयाँ संस्करणमा प्रतिस्पर्धा गर्न इच्छुकहरूका लागि आवेदन खुला गरेको हो ।
बिहीबार विज्ञप्ती जारी गर्दै ओस्कारमा भाग लिन इच्छुक फिल्मकर्मीलाई भदौ ३० गतेसम्ममा फिल्म बुझाउन आग्रह गरिएको हो । अवार्डका लागि यस वर्षभित्र हल तथा अन्य डिजिटल प्लाटफर्ममार्फत प्रदर्शन भएका फिल्मले भाग लिन पाउनेछन् । सँगै कोरोना महामारीका कारण तोकिएको मितिमा प्रदर्शन हुन नसकेका फिल्मले पनि भाग लिन पाउनेछन् ।
तोकिएको समयभित्र प्राप्त फिल्ममध्ये एक फिल्म कमिटीले छनोट गरेर ओस्कारको लागि पठाउनेछ । विमल पौडेलको अध्यक्षता रहेको उक्त कमिटीमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुविक्रम थापा, चिरञ्जीवी गुरागाईँ र सामीप्यराज तिमल्सेना छन् ।
अक्टोबर ३ भित्रै नेपालले एक फिल्मलाई ओस्कारमा सिफारिस गरिसक्नुपर्नेछ । आगामी मार्च १२ मा अमेरिकाको लस एन्जलसमा ओस्कार अवार्ड समारोह हुँदैछ ।
प्रकाशित समय : १५:५५ बजे



















