काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने, भएकै गाडी ‘पूर्वाधार एम्बुलेन्स’
वि.सं.२०७९ जेठ १९ बिहीवार १३:२१
shares

काठमाडौं महानगरपालिकाले अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ । नयाँ जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।
‘भौतिक पूर्वाधार एम्बुलेन्स’का लागि सवारी साधन किन्ने तथा भाडामा लिने प्रक्रिया लामो हुने भएकोले महानगर मातहतमा रहेका सवारी साधनलाई नै एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी तयारी थालिएको छ ।
काठमाडौं महानगरपालिका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार वातावरण विभागमा रहेका गाडीहरुलाई पूर्वाधार एम्बुलेन्स बनाउने प्रक्रिया सुरु भएको छ । प्रत्येक पूर्वाधार एम्बुलेन्समा एक ईन्जिनियर सहित ४ जना मजदुरहरु हुन्छन, त्यो पनि हामीले तयार गरिसकेका छौं । मजदुरहरुलाई तत्कालको लागि दैनिक ज्यालादारीमा राखिनेछ’, थापाले भने ।
























