एलआइसी नेपालको साधारण सभाबाट लाभांश प्रस्ताव पारित
वि.सं.२०७७ फागुन २५ मंगलवार २१:५९
shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । एलआइसी नेपालको नक्सालस्थित शिक्षालय हलमा मंगलबार भएको साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै साधारण सभाले कम्पनीको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५३ लाभांश पारित गरेको छ । जसअन्तर्गत १० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनार्थ ०.५३ नगद लाभांश रहेका छन् । आव २०७५/७६ मा कम्पनीले १,८९,३२० नयाँ बिमालेखहरु बिक्री गरी प्रथम बिमाशुल्क आम्दानीबापत ४२२.८३ करोड संकलन गर्न सफल भएको थियो । २०७६ असार मसान्तसम्ममा यस कम्पनीमा सक्रिय बिमालेखहरुको संख्या ७,३५,७४५ र कुल जीवन बिमा कोषमा ५३८७.७३ करोड संकलन भएको छ । आव २०७५/७६ मा कम्पनीको कुल जीवन बिमा कोषमा २७.४८ प्रथम बिमाशूल्क आर्जनमा ४६.३६, बिमालेख संख्यामा ४२.०९, लगानीतर्फ २३.६५ र लगानीबाट प्राप्त आम्दानीमा २१.९२ को वृद्धिदर रहेको थियो ।
कम्पनीका अध्यक्ष एम.आर. कुमारले सबै सेयरधनीलाई समय र सुझावका लागि धन्यवाद ज्ञापन गरे । उनले एलआइसी नेपालको १९औं (आब २०७६/७७) वार्षिक साधारण सभा पनि यथासक्य चाँडो सम्पन्न गरिने बताउँदै आव २०७६/७७ मा कोभिड- १९ महामारीले व्यवसायमा असर गरेको जानकारी दिए । चालु आव २०७७/७८ को दोस्रो त्रैमासभित्र कम्पनीले राम्रो गरिरहेको बताउदै प्रथम बिमाशुल्क आर्जनमा २०.२४ को वृद्धिदरकासाथ कुल बिमाशुल्क आर्जन ९६१.१८ करोड आर्जन गरेको र कम्पनीको कुल जीवन बिमा कोषमा ७,४२४.४९ रुपैयाँ जम्मा गर्न सफल भएकोसमेत जानकारी गराए । उनले आफ्ना बीमितहरुलाई सदैव उच्चतम प्रतिफल दिइरहने प्रतिबद्धता जनाए । जीवन बिमाको माध्यमबाट देशकोे आर्थिक एवं सामाजिक विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै उनले यस बिमकलाई नेपालमा सेवामुखी एवं उदाहरणीय जीवन बिमा कम्पनी बनाइरहने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, साधारण सभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना पब्लिक डाइरेक्टरमा कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ ।

























