काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल लाइफको रेटिङ डबल एएमा स्तरोन्नति

735
shares

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालले प्रदान गर्दै आएको क्रेडिट रेटिङ डबल ए माइनस (AA−) बाट बढाएर डबल ए (AA) कायम गरेको छ।

इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ बढाएको हो।

इक्रा नेपालका अनुसार डबल ए (AA) रेटिङ प्राप्त संस्थामा वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका सम्बन्धमा उच्च स्तरको सुरक्षा रहेको र क्रेडिट जोखिम अत्यन्त न्यून रहेको मानिन्छ।

यसअघि नेपाल लाइफ जीवन बीमा क्षेत्रमा इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो कम्पनी बनेको थियो। अहिले उक्त रेटिङ एक तह बढेर डबल ए पुगेको कम्पनीले जनाएको छ।

इक्रा नेपालको पछिल्लो मूल्याङ्कनअनुसार कम्पनीको सोल्भेन्सी अनुपात करिब १४५ प्रतिशतबाट बढेर १५४ प्रतिशत पुगेको छ। यो नियामक निकायले तोकेको न्यूनतम १३० प्रतिशतभन्दा बढी हो। कम्पनीले सरकारी सुरक्षणमा लगानी विस्तार गर्दै मुद्दती निक्षेपमा रहेको लगानीको एकाग्रता घटाएर पोर्टफोलियो विविधीकरण गरेको पनि मूल्याङ्कनमा उल्लेख छ।

आर्थिक वर्ष २०२५/२६ मा कुल बीमा शुल्क आर्जनका आधारमा कम्पनीको बजार हिस्सा करिब २७ प्रतिशत रहेको छ। उक्त अवधिमा कम्पनीले करिब ५४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको जीवन बीमा कोष करिब २७३ अर्ब र पोलिसी लोनसहित कुल लगानी करिब २८५ अर्ब रुपैयाँ पुगेको छ।

सन् २००१ देखि सञ्चालनमा रहेको नेपाल लाइफले सन् २०२६ जुलाई मध्यसम्म देशभर १९६ शाखा, उपशाखा तथा क्षेत्रीय कार्यालयमार्फत सेवा दिँदै आएको छ। देशव्यापी शाखा सञ्जाल, अभिकर्ता संरचना, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोलीलाई इक्रा नेपालले कम्पनीका सबल पक्षका रूपमा उल्लेख गरेको छ।

कम्पनीले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्ससँग पुनर्बीमा व्यवस्था कायम गरेको छ। आकस्मिक तथा विपद्जन्य जोखिम व्यवस्थापनका लागि पर्याप्त क्याटास्ट्रोफिक कभरसँगै करिब एक अर्ब ५४ करोड रुपैयाँको विपद् जगेडा कोष रहेको कम्पनीले जनाएको छ।

रेटिङ स्तरोन्नतिबारे प्रतिक्रिया दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसलाई वित्तीय सुदृढता, संस्थागत सुशासन र वित्तीय अनुशासनको प्रतिफलका रूपमा लिएका छन्।

उनले डबल ए माइनसबाट डबल एमा भएको स्तरोन्नतिले कम्पनीलाई अझ जिम्मेवार, सुदृढ र दिगो संस्थाका रूपमा अघि बढ्न प्रेरणा दिएको बताए।

उनले आगामी दिनमा सोल्भेन्सी अवस्था थप सुदृढ बनाउने, लगानी विविधीकरण गर्ने र विवेकपूर्ण जोखिम व्यवस्थापनलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरे।