काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वालिङको एक स्वास्थ्य पहलः समुदायका सवालदेखि साझा प्रतिबद्धतासम्म

567
shares

स्याङ्जा। विश्व एक स्वास्थ्य दिवस २०२६ को अवसरमा स्याङ्जाको वालिङ नगरपालिकाले ‘एक स्वास्थ्य संवादः समुदायदेखि नीतिसम्म’ विषयक कार्यक्रम सम्पन्न गरेको छ।

समुदायमा एक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मानव, पशुपन्छी तथा वातावरणीय स्वास्थ्यबीचको अन्तरसम्बन्धबारे जानकारी गराउने र स्थानीय तहमा एक स्वास्थ्य नीतिको प्रभावकारी कार्यान्वयनका लागि साझा प्रतिबद्धता निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

‘समृद्ध समुदाय निर्माणको आधारः एक स्वास्थ्यमा साझा प्रतिबद्धता, सहकार्य र व्यवहार’ भन्ने नारासहित आयोजित कार्यक्रममा निकालिएको र्‍यालीले वालिङ बजार परिक्रमा गरेको थियो। र्‍यालीमा सहभागीहरूले एक स्वास्थ्यसम्बन्धी सन्देशमूलक नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी गैह्रे, जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डे, गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका डा. राजेश चौधरी, नेपाल वन हेल्थ इन्स्टिच्युटका सचिव संकल्प भट्टराई, कृषि विकास कार्यालय स्याङ्जाका निमित्त प्रमुख नारायण पाठक र कृषि विकास स्रोत केन्द्र गण्डकी प्रदेशका प्रादेशिक कार्यालय प्रमुख सुदीप रेग्मीलगायतले एक स्वास्थ्यको अवधारणा र यसको कार्यान्वयनबारे धारणा राखेका थिए।

वालिङ बहुमुखी क्याम्पसका विद्यार्थीहरूले कार्यक्रममा एक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक पनि प्रस्तुत गरेका थिए। नाटकले समुदायमा देखिने स्वास्थ्य जोखिम र त्यसबाट बच्न अपनाउनुपर्ने व्यवहारलाई चित्रण गरेको थियो।

सडक नाटकमा उठे स्वास्थ्यसम्बन्धी सवाल

नाटकमा मानिस तथा पशुपन्छीमा एन्टिबायोटिकको अनुचित प्रयोगबाट बढ्ने एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर), रेबिजलगायत पशुबाट मानिसमा सर्ने रोग, तरकारी उत्पादनमा विषादीको जथाभावी प्रयोग र त्यसले मानव स्वास्थ्य तथा वातावरणमा पार्ने असरका विषय उठाइएको थियो।

त्यस्तै, दूध, मासुलगायत पशुजन्य खाद्य पदार्थको स्वच्छता र सुरक्षासम्बन्धी सवाल पनि नाटकमा समेटिएको थियो। विशेषगरी पशु उपचारमा एन्टिबायोटिक प्रयोग गरेपछि निर्धारित प्रतीक्षा अवधि पूरा नगरी दूध उपभोग वा बिक्री गर्दा हुन सक्ने जोखिम र खेतदेखि थालीसम्म खाद्य स्वच्छता कायम गर्नुपर्ने आवश्यकताबारे नाटकले सन्देश दिएको थियो।

मानिस, पशुपन्छी र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएकाले यस्ता समस्याको समाधान कुनै एक व्यक्ति वा निकायको प्रयासबाट मात्र सम्भव नहुने र सबै क्षेत्रको सहकार्य आवश्यक पर्ने सन्देश नाटकको मुख्य विषय थियो।

बहुक्षेत्रीय संवादमा रोकथाम र सहकार्यबारे छलफल

सडक नाटकपछि आयोजित ‘एक स्वास्थ्य संवादः समुदायदेखि नीतिसम्म’ कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, मानव तथा पशु स्वास्थ्य विज्ञ, कृषि क्षेत्रका प्राविधिक, नेपाल वन हेल्थ इन्स्टिच्युटका प्रतिनिधि, किसान, सहकारी तथा विभिन्न सरकारी निकायका प्रतिनिधिबीच छलफल भएको थियो।

संवादमा रेबिज तथा अन्य जुनोटिक रोगको रोकथाम, मानिस र पशुमा एन्टिबायोटिकको जिम्मेवार प्रयोग, सुरक्षित कृषि उत्पादन, विषादी व्यवस्थापन, खाद्य स्वच्छता र वातावरण संरक्षणका विषयमा छलफल गरिएको थियो।

छलफलका क्रममा समुदायमा देखिएका स्वास्थ्य जोखिमलाई छुट्टाछुट्टै क्षेत्रका समस्याका रूपमा मात्र नहेरी मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, वातावरण र खाद्य प्रणालीसँग जोडेर सम्बोधन गर्नुपर्नेमा जोड दिइएको थियो।

नीति कार्यान्वयनका लागि सातबुँदे घोषणापत्र

वालिङ नगरपालिकाले यसअघि नै एक स्वास्थ्यसम्बन्धी नीति तथा कार्यविधि स्वीकृत गरी यस अवधारणालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिँदै आएको छ। यसै पृष्ठभूमिमा आयोजित कार्यक्रमले समुदायमा देखिएका समस्या र सरोकारवालाका सुझावलाई स्थानीय सरकारको नीतिगत प्राथमिकता तथा कार्यान्वयनसँग जोड्ने अवसर प्रदान गरेको छ।

कार्यक्रममा उठेका सवाललाई समेट्दै ‘वालिङ एक स्वास्थ्य घोषणापत्र, २०८३’ जारी गरिएको छ। घोषणापत्रमा एक स्वास्थ्य नीति तथा कार्यविधिको कार्यान्वयन, मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि तथा वातावरण क्षेत्रबीच समन्वय, रेबिजलगायत जुनोटिक रोगको रोकथाम, एन्टिबायोटिकको जिम्मेवार प्रयोग, सुरक्षित कृषि उत्पादन तथा खाद्य स्वच्छता प्रवर्द्धन गर्ने प्रतिबद्धता समेटिएको छ।

त्यसैगरी किसान, सहकारी, विद्यालय, स्वास्थ्य स्वयंसेविका, युवा तथा समुदायको सहभागिता बढाउने र साझा प्राथमिकताका आधारमा संयुक्त कार्ययोजना बनाउने, जिम्मेवारी निर्धारण गर्ने तथा नियमित समीक्षा गर्ने विषय पनि घोषणापत्रमा उल्लेख गरिएको छ।

‘समृद्ध समुदाय निर्माणको आधारः एक स्वास्थ्यमा साझा प्रतिबद्धता, सहकार्य र व्यवहार’ भन्ने नारासहित जारी घोषणापत्रले एक स्वास्थ्यसम्बन्धी जनचेतनालाई व्यवहार परिवर्तन र संस्थागत सहकार्यसँग जोड्ने लक्ष्य राखेको छ।

अन्य स्थानीय तहका लागि सिकाइ

विश्वव्यापी रूपमा मानव, पशु तथा वातावरणीय स्वास्थ्यसँगै कृषि र खाद्य प्रणालीलाई एकीकृत रूपमा सम्बोधन गर्ने एक स्वास्थ्य अवधारणाले महत्त्व पाइरहेको छ। यस सन्दर्भमा वालिङ नगरपालिकाले नीति निर्माण, समुदायस्तरीय जनचेतना, बहुक्षेत्रीय संवाद र साझा घोषणापत्रलाई एउटै प्रक्रियामा जोडेर स्थानीय तहको नेतृत्वमा अवधारणालाई कार्यान्वयन गर्ने प्रयास गरेको छ।

यस पहलले अन्य स्थानीय तहलाई पनि एक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन र नीति कार्यान्वयनका लागि सिकाइ प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ।

आगामी दिनमा घोषणापत्रका प्रतिबद्धतालाई स्पष्ट कार्ययोजना, जिम्मेवारी, स्रोत परिचालन र नियमित अनुगमनसँग जोड्न सके वालिङको अनुभव अन्य नगरपालिकामा पनि विस्तार गर्न सकिने सम्भावना छ।

समुदायबाट उठेका स्वास्थ्यसम्बन्धी सवाललाई स्थानीय सरकारको नेतृत्वमा नीति, सहकार्य र व्यवहारिक कार्यान्वयनसम्म पुर्‍याउने प्रयासले एक स्वास्थ्य अवधारणालाई स्थानीय तहमा संस्थागत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।