तीन महिनामा बीमालेख धितोमा ९५ अर्ब ८३ करोड कर्जा, नेपाल लाइफको सबैभन्दा धेरै
वि.सं.२०८३ मंसिर १० बिहीवार १५:५९
shares

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बीमालेख धितो राखेर ९५ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो कर्जा ०.५६ प्रतिशतले बढेको हो।
कम्पनीहरूले सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार राष्ट्रिय जीवन बीमा कम्पनीबाहेक १३ जीवन बीमकले असोजसम्म ९५ अर्ब ८३ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्षको सोही अवधिमा यस्तो कर्जा ९५ अर्ब २९ करोड ८७ लाख रुपैयाँ थियो।
कर्जा रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले असोजसम्म ३४ अर्ब ७० करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्षको तुलनामा कम्पनीको कर्जा १.२७ प्रतिशतले घटेको हो।
दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले १९ अर्ब ६८ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीको कर्जा गत वर्षको तुलनामा ६.८८ प्रतिशतले घटेको छ। तेस्रो स्थानमा रहेको नेसनल लाइफले १२ अर्ब ४७ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसको कर्जा ०.०२ प्रतिशतले बढेको हो।
कर्जा वृद्धिदरका आधारमा आइएमई लाइफ इन्स्योरेन्स अगाडि रहेको छ। कम्पनीको कर्जा २८.२२ प्रतिशतले बढेर १ अर्ब ४० करोड ७५ लाख रुपैयाँ पुगेको छ। सानिमा रिलायन्स लाइफको कर्जा २४.३४ प्रतिशत, रिलायबल नेपाल लाइफको २२.४३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २०.३६ प्रतिशत र सिटिजन लाइफको २२.२८ प्रतिशतले बढेको छ।
त्यस्तै, सूर्यज्योति लाइफको कर्जा ९.९५ प्रतिशत, हिमालयन लाइफको ६.६७ प्रतिशत, सन नेपाल लाइफको ४.४१ प्रतिशत र एशियन लाइफको २.१३ प्रतिशतले बढेको छ। मेट लाइफको कर्जा भने ४.९१ प्रतिशतले घटेको छ।
बीमालेख धितोमा कर्जा लिन बीमालेखको बीमा प्रारम्भ भएको तीन वर्ष पूरा हुनुपर्ने र आवश्यक बीमाशुल्क भुक्तानी भएको हुनुपर्ने व्यवस्था छ। बीमितले बीमालेखको चुक्ता मूल्यका आधारमा यस्तो कर्जा सुविधा प्राप्त गर्न सक्छन्।

























