काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु

252
shares

म्याग्दी। म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ ।

पूर्वाधार विकास कार्यालयले यस सडकको मालिका गाउँपालिका–७ बिमको लुरबाङ–दुले–नराले–अर्गला–बेँसी खण्डमा फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार, टेवा पर्खाल, नाली, ग्राभेल र ढलान गर्न आयोजना सञ्चालन गरेको हो ।

यो सडक म्याग्दी र राहुघाट करिडोरका वस्तीलाई जोड्ने चक्रपथ मानिएको छ । योजना निर्माणका लागि २०८३ असार २४ गते सर्वशक्ति–महाशय निर्माण सेवाले तीन करोड ६२ लाख ६१ हजार ३११ मा ठेक्का सम्झौता गरेको थियो ।

विसं २०८४ असार २४ गतेसम्म ठेक्काको म्याद रहेको छ । निर्माण कम्पनीले पहिलो चरणमा नराले खण्डमा सडक फराकिलो बनाउने र ग्यावियन पर्खाल निर्माणको काम गरिरहेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकले जानकारी दिए ।

योजनामार्फत मालिका गाउँपालिका–७ लुरबाङदेखि धवलागिरि गाउँपालिका–६ बेँसीसम्म विभिन्न ठाउँमा ८६५ मिटर ढलान, एक हजार ३२६ घनमिटर ग्यावियन र एक हजार २२३ घनमिटर मेसिनरी पर्खाल निर्माण हुनेछ । आठ सय ६५ मिटर दूरीमा पक्की नाली निर्माण गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रस्तावित रघुगङ्गा–म्याग्दी चक्रपथ सडकमा पर्ने धवलागिरि गाउँपालिका–५ मल्कबाङ र भेडिखाल्डा खण्डमा मार्ग खुल्न बाँकी छ । धवलागिरि गाउँपालिकाले गत वर्षदेखि मल्कबाङ–भेडिखाल्डा सडक मार्ग निर्माणका लागि सुरु गरेको योजना चालु आर्थिक वर्षमा सम्पन्न हुने चरणमा छ ।

बेनी नगरपालिका, मङ्गला, मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकालाई समेट्ने राहुघाट–म्याग्दी चक्रपथको अवधारणाअनुसार सडक स्तरोन्नतिको सुरुआत गरिएको म्याग्दी–१ ९२०बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुबिन)ले बताए।

उनका अनुसार बेनी–दरवाङ खण्ड प्रदेश सरकारमार्फत स्तरोन्नतिको अन्तिम चरणमा छ भने बेनी–पाखापानी सडकको बेनी–तोरीपानी खण्डमा स्तरोन्नति भएको छ । दीर्घकालीन महत्त्व राख्ने चक्रपथ सडक योजनालाई म्याग्दीको प्राथमिकताप्राप्त र गौरवको योजनाका रूपमा अघि बढाउन सङ्घीय सरकारमा पहल गरिएको प्रदेशसभा सदस्य जुग्जालीले बताए ।