global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कुखुराबाट लाख आम्दानी

कुखुराबाट लाख आम्दानी

कुखुराबाट लाख आम्दानी

सिन्धुपाल्चोक – बलेफी गाउँपालिका फुल्पिङकोट नौबिसे फाँटका लेखनाथ नेपाल उमेरले ६२ लागिसकेका छन् । कुखुरापालनबाट राम्रो आम्दानी हुने देखेर यो व्यवसायमा होमिएका उनी अहिले मासिक १ लाखसम्म कमाइ गर्छन् ।

‘पहिलो पटक कुखुरापालन अरूबाटै सिकेँ, सुरुमा झन्झन्ट लागे पनि कमाइ राम्रै हुन थालेपछि यसमा जोड दिँदै गएँ,’ नेपालले भने, ‘विस्तारै यसबारे ज्ञान बढ्दै गएपछि जाँगर चल्न थाल्यो ।’ बाहुनले पूजापाठ छोडेर कुखुरा पालेर बहुलायो भनेर आरोप लगाउनेहरू नै अहिले उनीसँग कुखुरापालनबारे सिक्न आउने गरेका छन् । ५० वटा चल्ला पालेर सुरु गरेका उनले पहिलो पटक नै ५० हजार नाफा आर्जन गरेपछि निरन्तर यही व्यवसाय गरिरहेका छन् ।

मेलम्ची नगरपालिका शिखरपुरका ३० वर्ष लागेकी नाथमाया आचार्यले ब्रोइलर कुखुरा पाल्न सुरु गर्दा श्रीमान्ले समेत गाली गरे । ‘कुखुरा पालेर के गर्छस्, विदेश जाऊ बरु भने,’ आचार्यले विगत सम्झँदै भने, ‘आफ्नो सुन बेचेर चल्ला हालेकी मलाई भाग्यले साथ दियो ।’ दुई वर्षअघि आफ्नै होडमा ब्रोइलर कुखुरा पालेर सुरु गरेकी उनले राम्रो आम्दानी गर्न थालेपछि अहिले नमुना कृषक बनेकी छन् ।

पहिलो पटक २० हजार नाफा गरेपछि श्रीमान्ले पनि साथ दिन थालेका छन् । नाथमाया कुखुरा पालनबाटै मासिक लाखसम्म कमाइरहेको बताउँछिन् । उनको प्रगति देखेर बिदेसिन लागेका शिखरपुरका युवासमेत कुखुरापालनमा जुटेका छन् ।

लेखनाथ, नाथमाया त उदाहरण मात्रै हुन् । ब्रोइलर कुखुरापालन पछिल्लो समय गाउँमा राम्रो आम्दानीको स्रोत बनिरहेको छ । माग उच्च रहेकोले राम्रो व्यवसायको रूपमा लिन थालिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थी बताउँछन् । ‘राम्रो आम्दानी हुने भएपछि कुखुरा पालनप्रति आकर्षण ह्वात्तै बढिरहेको छ,’ अधिकृत पन्थीले भने, ‘अचेल विकट भेगका स्थानीय कृषक कुखुरापालनमा झनै सक्रिय देखिएका छन् ।’

जिल्लाभर चल्ला बिक्री गरिरहेका विष्णु तिमल्सिनाका अनुसार एउटा टोलमा सातदेखि ८ सयसम्म विभिन्न जातका कुखुराको चल्ला माग हुने गरेको छ । ‘चार/पाँच महिनामै बिक्री गर्न सकिने भएकाले ब्रोइलर जातको कुखुरा नै माग बढी हुने गरेको छ,’ उनले भने ।

जिल्लाभर पालिएका कुखुरा प्रमुख बजार बाह्रबिसे, खाडीचौर, मेलम्ची बजारदेखि राजधानीसम्म निर्यात हुने गरेको छ । गाउँमा पालन गरिएका कुखुराले स्थानीय बजारको माग पुर्‍याउन नसकिरहेको पन्थीको भनाइ छ । विशेष गरी गिरिराज, ब्रोइलर र टर्की जातका कुखुरा जिल्लाभर व्यावसायिक रूपमा पाल्नथालिएको छ ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु