गृहपृष्ठ आधा सार्वजनिक भवनको पुनर्निर्माण सुरु नै भएन
आधा सार्वजनिक भवनको पुनर्निर्माण सुरु नै भएन
काठमाडौँ – भूकम्प गएको ३३ महिना बितिसक्दा पनि करिब ४६ प्रतिशत सर्वाजनिक भवन पुनर्निर्माणको काम सुरु हुन सकेको छैन ।पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म ३२ प्रतिशत सार्वजनिक भवनहरूको पुनर्निर्माण सकिएको छ ।
शैक्षिक संस्था, स्वास्थ्य संस्था केन्द्र, सांस्कृतिक सम्पदा, सरकारी र सुरक्षा निकाय र खानेपानी पूर्वाधार क्षेत्रमा १३ हजार ५ सय ७२ वटा भवनहरूमा प्रयोग गर्न नमिल्ने गरी भूकम्पले क्षति पुर्याएको थियो । यी भवनहरूलाई पुनर्निर्माण गर्नुपर्ने सूचीमा राखिएको छ । यसमध्ये ३२ प्रतिशत (४ हजार ३ सय ८२ वटा) भवनहरूको पुनर्निर्माण सकिएको छ । साढे २१ प्रतिशत (२ हजार ९ सय १८ वटा) भवनहरूको पुनर्निर्माण भइरहेको छ । बाँकी ४६ प्रतिशत (६ हजार २ सय ७२) भवनको पुनर्निर्माण सुरु नै भएको छैन ।
निजी घर पुनर्निर्माणको अवस्था झन् नाजुक छ । करिब १२ प्रतिशत पीडितले मात्रै घर पुनर्निर्माण गर्न सफल भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा भइरहेको राजनीतिकरण, कर्मचारीको असहयोग, सरकारी निकायहरूबीचको समन्वय अभावले सार्वजनिक र निजी घर पुनर्निर्माणले तीव्रता पाउन नसकेको हो । पुनर्निर्माण सुरु भएका सार्वजनिक भवनहरूको हकमा सरकारी निकायहरूको ढिलासुस्ती, निर्माण सामग्री र जनशक्ति अभावका कारण काम सम्पन्न हुन सकेको छैन ।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले प्राविधिक कारणले केही भवनहरूको निर्माण सुरु नै हुन नसकेको बताए । ‘ठूला भवनहरूको हकमा बृहत् परियोजना प्रतिवेदन (डीपीआर) बनाउनुपर्ने हुन्छ । ठेक्का प्रक्रियाका लागि पनि समय लाग्छ,’ उनले भने, ‘कतिपय ठाउँमा जनशक्ति अभावका कारण निर्माणको काम सुरु हुन नसकेको हो ।’ तथ्यांकअनुसार सबैभन्दा बढी शैक्षिक संस्थाको पुनर्निर्माण गर्नुपर्ने छ । ७ हजार ६ सय ५३ वटा शैक्षिक संस्थाका भवन पूर्ण रूपमा क्षति भएका थिए । यसमध्ये ३ हजार २ सय ४ वटा भवनको पुनर्निर्माण सुरु नै हुन सकेको छैन । १ हजार ४ सय ५८ वटा शैक्षिक संस्थाको भवन निर्माण कार्य जारी छ । २ हजार ८ सय ९१ वटाको भने निर्माण सम्पन्न भइसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
सांस्कृतिक सम्पदातर्फको प्रगति पनि निराशाजनक देखिन्छ । तथ्यांकअनुसार ७ सय ५३ वटा सांस्कृतिक सम्पदामा भूकम्पले क्षति पुर्याएको थियो । यसमध्ये हालसम्म ७९ वटा सम्पदाको मात्रै पुनर्निर्माण सम्पन्न भएको छ । १ सय ११ सम्पदा निर्माणाधीन छन् । ५ सय ६३ वटा सम्पदाको पुनर्निर्माण भने सुरु नै हुन सकेको छैन । भवन निर्माणमा पनि केही गैरसरकारी संस्थाले जिम्मा लिएका छन् । ‘निर्माण सम्पन्न भइसकेका ससाना भवन उनीहरूले बनाइदिएका हुन्,’ प्राधिकरणकै एक अधिकारीले भने । हालसम्मको प्रगतिका आधारमा भवनहरू निर्माण निराशाजनक नरहेको प्राधिकरणका सीईओ भुसालको दाबी छ । ‘पुनर्निर्माण प्राधिकरणले काम थालेको करिब दुई वर्ष भयो,’ उनले भने, ‘सार्वजनिक पुनर्निर्माणको काममा समय लाग्छ । करिब ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने योजना हो ।’
निजी घरहरू भने असार मसान्तसम्म ४ लाख ५० हजार निर्माण सम्पन्नको लक्ष्य राखिएको उनले बताए । निजी घरहरू निर्माणको हालको गति हेर्दा उक्त लक्ष्य हासिल हुने सम्भावना भने कम देखिन्छ । प्राधिकरणका अनुसार हालसम्म निर्माण सम्पन्न भइसकेका घरहरूको संख्या ९५ हजार ६ सय ७१ मात्रै हो । निर्माण गर्नुपर्ने घरहरूको संख्या ७ लाख ६७ हजार ७ सय ५ हो । उक्त आधारमा हालसम्म करिब १२ दशमलव ४६ प्रतिशत मात्रैले घर निर्माण सम्पन्न गरेका हुन् ।
प्राधिकरणको तथ्यांकअनुसार निर्माण सम्पन्न भइसकेका घरहरूमध्ये धेरैजसो अनुदान नलिई स्वस्फूर्त निर्माण गरिएका हुन् । केही घर गैरसरकारी संस्थाले बनाइदिएका हुन् । प्राधिकरणले असार मसान्तसम्म ६० प्रतिशत निजी घर निर्माणको लक्ष्य लिएको छ । त्यसका लागि अझै करिब ३ लाख ६४ हजार घर बन्नुपर्ने हुन्छ । जबकि हालसम्म दोस्रो र तेस्रो किस्ता लिनेहरूको संख्या जोडदा ३ लाख पुग्दैन ।
प्रकाशित समय : १४:०० बजे