गृहपृष्ठ भैरहवा सेजमा जान किन तर्सिए उद्योगी ?
भैरहवा सेजमा जान किन तर्सिए उद्योगी ?
बुटवल– मुलुकमा लगानीको वातावरण बनाउँदै उद्योगीलाई सहुलियत तथा विशेष सुविधा प्रदान गर्ने गरी भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरिएको छ । तर, स्थापना भएको लामो समय बितिसक्दा पनि उद्योगी भैरहवा सेजमा उद्योग स्थापनाका लागि चासो देखाएका छैनन् ।
विद्युत प्राधिकरणले सेजमा तत्काल विद्युत उपलब्ध गराउने बताइरहे पनि किन उद्योगी तर्सिरहेका छन् त ? स्थलगत निरीक्षणमा पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भैरहवा सेजका कर्मचारीले उद्योग स्थापनाका लागि इच्छुक १९ कम्पनी विद्युत् अभावको कारण देखाउँदै अझै नआएको जानकारी दिएका छन् । तर, घिसिङले भने तत्काल विद्युत दिन लिखित प्रतिबद्धता जनाएको बताएका छन् । ‘अहिले भइरहेको पूर्वाधारबाट दुई–तीन मेगावाट विद्युत तत्काल दिने लिखित प्रतिबद्धता जनाइसकेका छौं, यसबाट उद्योगीले पूर्वाधार निर्माणका काम गर्न सक्छन्,’ उनले भने, ‘३३ केभी डबल सर्किट लाइन निर्माण अन्तिम चरणमा पुगेको छ, त्यसमार्फत दुई महिनाभित्र थप विद्युत दिन सक्छौं ।’
प्रसारणलाइन निर्माण गरिरहेको ठेकेदार कम्पनीले वन क्षेत्रको जग्गा प्रयोग र स्थानीयको अवरोधको समस्या समाधान भइसकेकाले दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । प्राधिकरणले लाइन पुर्याए पनि सेजभित्र स्थापना हुने सबस्टेसन निर्माणका लागि सेज कार्यालयले अहिलेसम्म टेन्टर आह्वानसमेत गरेको छैन ।
प्राधिकरणले अहिले निर्माण गरिरहेको सबस्टेसनको अनुभव हेर्दा टेन्डर गरी ठेकेदार नियुक्त गर्न कम्तीमा ६ महिना लाग्छ । त्यसपछि सामान अर्डर गरी ठेकेदारलाई काम सक्न छिटोमा १५ देखि १८ महिना लाग्छ । अर्थात्, सामान्य अवस्थामा टेन्डरका सम्पूर्ण प्रक्रिया सकेर सबस्टेसन निर्माण सम्पन्न गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने प्राधिकरणले जनाएको छ ।
प्रकाशित समय : २१:०१ बजे

















