मध्यपुरथिमिमा नेपाल–जापान सांस्कृतिक महोत्सव आयोजना
वि.सं.२०८३ मंसिर ४ शुक्रवार २०:३९
shares

भक्तपुर । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा भक्तपुरको मध्यपुरथिमिमा नेपाल–जापान सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।
मध्यपुरथिमि नगरपालिकाले चपाचोस्थित पोटरी स्क्वायरमा आयोजना गरेको महोत्सवको नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल जापानमैत्री सङ्घ जापानका अध्यक्ष हिरोमी इस्हिओकाले संयुक्त रूपमा उद्घाटन गरे ।
महोत्सवमा नेपाल र जापानका कला, संस्कृति, परम्परागत सङ्गीत, नृत्य तथा मौलिक पहिचान झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको छ ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठले महोत्सव दुई देशबीचको सात दशक लामो मित्रता, विश्वास, सहकार्य र पारस्परिक सम्मानको उत्सव भएको बताए । भौगोलिक रूपमा टाढा रहे पनि सांस्कृतिक सभ्यता, मानवीय संवेदना र परम्पराले नेपाल र जापानलाई नजिक बनाएको उनको भनाइ थियो ।
उनले मध्यपुरथिमि कला, संस्कृति र मौलिक सम्पदाले भरिपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यहाँका जात्रा, पर्व, परम्परागत नाच, बाजागाजा, मूर्तिकला, काष्ठकला तथा माटाका भाँडालगायत सम्पदाको संरक्षण र प्रवर्द्धनमा जोड दिए ।
स्थानीय मौलिक पहिचानलाई विश्वमाझ चिनाउने, नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण गर्ने तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले जानकारी दिए । जापानले कला, संस्कृति, परम्परा र आधुनिक विकासमा हासिल गरेको उपलब्धिबाट नेपालले धेरै कुरा सिक्न सक्ने पनि उनले बताए ।
कार्यक्रममा नेपाल जापानमैत्री सङ्घ जापानका अध्यक्ष हिरोमी इस्हिओकाले गौतम बुद्धको देश नेपालबाट बुद्धले देखाएको मार्गको अनुसरण गर्दै जापानले विकासमा प्रगति गरेको बताए । उनले नेपाल र जापानबीचको मित्रता आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।
महोत्सवमा २१ वटा प्रदर्शनी कक्ष राखिएका छन् । ती कक्षमा हस्तकला, काष्ठकला, मूर्तिकला तथा नेपाल र जापानका मुद्रा, सिक्का र नोट प्रदर्शन गरिएको छ ।
त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाको तर्फबाट दाफा भजन, बाँसुरी बाजा, महाकाली नाच, धिमेबाजा तथा विभिन्न मौलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । जापानको तर्फबाट पनि विभिन्न सांस्कृतिक नृत्य प्रदर्शन गरिएको थियो ।
महोत्सव आज रातिसम्म सञ्चालन हुनेछ ।

























