प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना
वि.सं.२०८३ मंसिर ४ शुक्रवार २०:२४
shares

काठमाडौं । नेपाल प्रहरीले तल्लो तहका कर्मचारीका गुनासा तथा पीरमर्का प्रत्यक्ष रूपमा सुन्न र सम्बोधन गर्न केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना गरेको छ।
प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले डेस्कको उद्घाटन गरेका हुन्।
उद्घाटनका क्रममा आईजीपी केसीले नेपाल प्रहरीको सीयूजी सेवामा आबद्ध प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फारामको लिङ्क पठाएका थिए। उनले एक जना प्रहरी कर्मचारीसँग टेलिफोनमार्फत प्रत्यक्ष कुराकानी गरी गुनासोसमेत सुनेका थिए।
नेपाल प्रहरीका अनुसार तल्लो तहका कर्मचारीले कार्यक्षेत्रमा भोग्नुपरेका समस्या, कठिनाइ, विभेद तथा अन्य पीरमर्कालाई सहज र प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले डेस्क स्थापना गरिएको हो।
आईजीपी केसीले आधारभूत तहका प्रहरी कर्मचारीका गुनासा विभिन्न तह पार गर्दै नेतृत्वसम्म पुग्न कठिन हुने अवस्थालाई ध्यानमा राखेर प्रत्यक्ष गुनासो सुन्ने व्यवस्था गरिएको बताए। उनले तल्लो तहका कर्मचारी सङ्गठनको महत्त्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै उनीहरू सन्तुष्ट नभएसम्म नागरिकले गुणस्तरीय प्रहरी सेवा पाउन कठिन हुने धारणा राखे।
गुनासो व्यवस्थापन डेस्क केवल उजुरी दर्ता गर्ने स्थान नभई नेतृत्व तह र आधारभूत तहका कर्मचारीबीच विश्वासको सेतुका रूपमा स्थापित हुनुपर्ने उनको भनाइ थियो।
उनले गुनासोकर्ताको गोपनीयतालाई प्राथमिकता दिँदै प्रत्येक गुनासालाई गम्भीरतापूर्वक लिन र निष्पक्ष रूपमा सम्बोधन गर्न डेस्कमा खटिएका कर्मचारीलाई निर्देशनसमेत दिए।
नेपाल प्रहरीको कुल जनशङ्ख्याको ८२ प्रतिशतभन्दा बढी आधारभूत तहका कर्मचारी रहेको तथ्यलाई ध्यानमा राख्दै प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी डेस्क स्थापना गरिएको हो।
डेस्कमार्फत कर्मचारीलाई आफ्ना जायज गुनासा सहज, गोप्य र निष्पक्ष रूपमा राख्न सक्ने वातावरण निर्माण गरिनेछ। प्राप्त गुनासाको प्रमाणका आधारमा शीघ्र सम्बोधन गर्नुका साथै सुपरिवेक्षक तथा जिम्मेवार अधिकारीको जवाफदेहिता बढाउने लक्ष्यसमेत राखिएको छ।
त्यस्तै, सङ्गठनभित्र दोहोरिने समस्या तथा प्रणालीगत कमजोरी पहिचान गरी नीतिगत, प्रशासनिक र कल्याणकारी सुधारका उपाय अवलम्बन गर्न पनि डेस्कले सहयोग पुर्याउने नेपाल प्रहरीले जनाएको छ।
कार्यक्रममा केन्द्रीय गुनासो व्यवस्थापन डेस्कका संयोजक प्रहरी उपरीक्षक गोविन्द पुरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो।
सातवटै प्रदेश प्रहरी कार्यालय, प्रहरी शिक्षालय, तालिम केन्द्र, जिल्ला प्रहरी परिसर तथा विभिन्न प्रहरी एकाइका प्रमुख र प्रतिनिधिहरू भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए।

























